भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, ८६०५ पुगे संक्रमित (भिडियाे)

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, ८६०५ पुगे संक्रमित (भिडियाे)

असार २०७७ काठमाडौं . नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/596236957968905/

यो सहित डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको छ।कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

अस्पतालबाट डिस्चार्ज

गत २४ घण्टामा १ सय ७६ जना संक्रमित उपचारपछि कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । १८ महिला र १ सय ५८ पुरुष गरी १ सय ७६ जना निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा निको हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। जसमध्ये १ सय ४१ महिला र १ हजार ४ सय ३७ पुरुष छन्।

सिरहा अस्पताल सिरहाबाट २६ पुरुष, आइसोलेसने सेन्टर जानकी बाँकेबाट ४१ पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ महिला र १० पुरुष गरी १३ जना डिस्चार्ज भएका छन्। गत २४ घण्टामा डिस्चार्ज हुनेमा कोशी अस्पतालबाट मोरङका १ महिला र १ पुरुष, खोटाङका ३ पुरुष, सुनसरीका २ महिला र १ पुरुष, उदयपुरका १ महिला र १ पुरुष गरी ११ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट सल्यानका ११ पुरुष र सुर्खेतका १३ पुरुष गरी २४ जना, कोभिड १९ विशेष अस्पताल दाङबाट २ महिला र ३ पुरुष गरी ५ जना छन्।

यस्तै, डडेल्धुरा अस्पतालबाट १ महिला र १ पुरुष गरी २ जना, अछाम जिल्ल अस्पतालबाट १ महिला र ४ पुरुष गरी ५ जना, दार्चुला अस्पतालबाट २ पुरुष, मनहरी आइसोलेसन मकवानपुरबाट १ महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल धनगढीबाट ८ पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

टिकापुर अस्पताल कैलालीबाट १ महिला र ३ पुरुष गरी ४ जना, नेपालगञ्ज मेडिकल कलेजबाट कैलालीका १ महिला, डोटी अस्पतालबाट २ महिला र ७ पुरुष गरी ९ जना, महाकाली अस्पताल कञ्चनपुरबाट ६ पुरुष, कैलालीका १ महिला र ७ पुरुष गरी १४ जना र भरतपुर अस्पताल चितवनबाट ३ पुरुष, नवलपरासी पूर्वका १ महिला, २ पुरुष गरी ६ जना सहित कुल १ सय ७६ जना डिस्चार्ज भएका छन्। यसअघि शुक्रबार २ सय १६ जना उपचारपछि डिस्चार्ज भएका थिए।

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ। रुपन्देहीको भीम अस्पतालबाट रेफर गरिएकी कृष्णनगरकी २७ वर्षीया महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको हो। शुक्रबार राति भर्ना गरिएकी ती महिलाको शनिबार बिहान ५.२५ बजे २.४ केजी तौलको बच्चाको जन्म भएको कलेजले जनाएको छ।

नवजात शिशु र आमा स्वस्थ रहेको पनि कलेजले उल्लेख गरेको छ। शल्यक्रियामा डा कविता सिन्हा, डा रविन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाहालगायतको टोली सहभागी थियो।

कैलालीको गोदावरी नगरपालिका सिल
कोरोना संक्रमण फैलिदै गएपछि कैलालीको गोदावरी नगरपालिकामा शनिबारदेखि सिल गरिएको छ। एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगर प्रमुख हरिसिंह साउँदले बताए।

नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमति भइसकेको समेत उनले जानकारी दिए। कोरोना संक्रमणबाट एकजनाको मृत्यु समेत भईसकेको र संक्रमण बढ्दै गएका कारण भीडभाडले जोखिम बढ्न सक्ने भन्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न अनुरोध गरिएको नगर प्रमुख साउँदले जानकारी दिए।

क्यान्सर बिरामीले कोरोना जितेपछि
फोक्सोको क्यान्सर भएका कोरोना संक्रमित ७४ वर्षीय वृद्ध डिस्चार्ज भएका छन्। उनी भारतपुर अस्पतालको आइसोलेसनमा उपचाररत थिए। भरतपुर निवासी उनले कोरोना संक्रमणमुक्त भएपछि खुशी व्यक्त गरेका छन्। उनले कोरोना संक्रमण विरुद्धको संघर्षमा विजय प्राप्त गर्दा खुशी लागेको बताए। डाक्टर, स्वास्थ्यकर्मी र अस्पताल टिमलाई विशेष धन्यवाद दिए।

खरिदको सबै काम स्वास्थ्य मन्त्रालयबाट
सरकारले मेडिकल सामग्री खरिदका सबै काम स्वास्थ्य मन्त्रालयलाई दिने निर्णय गरेको छ। सिसिएमसीको शुक्रबार बसेको बैठकले सेनाले खरिद गरेको सबा दुई अर्ब बराबरको मेडिकल सामग्री खरिद प्रक्रिया विवादमा परेपछि पुनः विभागीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नै खरिद गर्ने निर्णय गरेको हो।

सिसिएमसीको निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मेडिकल सामग्री स्वास्थ्य मन्त्रालय मार्फत नै गर्ने निर्यण गरेको बताएका हुन्। पछिल्लो समय सेनाले जिटुजीमार्फत चीनबाट खरिद गरेको ६७ शीर्षकको मेडिकल सामग्रीमा १ अर्बभन्दा बढी घोटाला भएको विषय उजागर भएसँगै सरकारले फेरि स्वास्थ्य मन्त्रालय मार्फत नै मेडिकल सामाग्री खरिद गर्ने निर्णय गरेको छ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको सबै प्रक्रिया स्वास्थ्य मन्त्रालयमार्फत अघि बढ्ने बताइन्। ‘अब सबै मेडिकल सामग्री खरिद प्रक्रिया स्वास्थ्य मन्त्रालयले गर्ने हो’, मन्त्री अर्यालले भनिन्। केही दिन अगाडि मात्रै सेनाले आफूहरूलाई विवादमा पार्ने काम भएको भन्दै मेडिकल सामग्री खरिद नगर्ने भन्दै सरकारलाई जानकारी गराएको थियो।

साथै सेनाले खरिद गरेको मेडिकल सामग्रीको विषयमा संसदको सार्वजनिक लेखा समितिले समेत विवरण मागिसकेको छ। स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले माघ २५ गते गरेको मेडिकल सामाग्री खरिदको टेन्डर रद्द गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र रक्षामन्त्री ईश्वर पोखरेलले ओबिसिआईसँग मेडिकल सामग्री खरिद गर्ने निर्णय कोराना रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समितिबाट गरेका थिए।