काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको काठमाडौंमा सम्पन्न पहिलो महासभाबाट अध्यक्षमा ग्रीनहिल सिटीका भेषराज लोहनीसहित कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शुक्रबार सम्पन्न महासंघको पहिलो महासभाले दुई वर्षका लागि पदाधिकारी चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा तथा उपाध्यक्षमा राजकुमार राई र विदुर धमला निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा विष्णु (ध्रुव) प्रसाद घिमिरे, सचिवमा भिलेज हाइल्याण्ड रिर्सोटका अध्यक्ष तथा पर्यटन व्यवसायी रामसुन्दर बके निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा रोशनकुमार भोयद्यो निर्वाचित भएका छन्। प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्यहरुमा घनश्याम पोखरेल (कोशी), अरुण स्तोम त्रिपाठी (गण्डकी), बाबुराम अधिकारी (बागमती) तथा दशरथ पौडेल (लुम्बिनी) र निर्वाचित २ जना खुला सदस्यमा श्रीधर महरा क्षेत्री (दाङ) र पूर्णिमा राजभण्डारी (काठमाडौं) निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई संगठनले विश्वास गरी निर्विरोध गराएकोमा महासंघका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिएका छन् । महासंघमा आबद्ध व्यवसायीमात्र नभएर सम्पूर्ण व्यवसायीको हक हितका लागि अहोरात्र खटेर कार्य गर्ने दृढता व्यक्त गर्दै कार्यसमितिका पदाधिकारी कार्यस्थलमा खटिने अध्यक्ष भेषराज लोहनीले कैलाश खबरलाई बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…
त्यस्तै सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या झण्डै ६६ प्रतिशत पुगेको परिप्रेक्ष्यमा जनताको आवासको अधिकारको प्रत्याभूति गर्न रियल इस्टेट व्यवसायीहरुको ठूलो योगदान रहेको शनिबार आयोजित महासंघको प्रथम महासभाको उद्घाटन गर्दै सीमाविद् एवं नेपाल जग्गा तथा आवास विकास संघका संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताए।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले जग्गा र हाउजिङ व्यवसायीहरुबीच कुनै भिन्नता नगरी एक अर्काको परिपूरकका रुपमा व्यवसाय प्रवर्द्धन गर्न जुट्नु पर्ने बताए । रियल इस्टेट कम्पनीहरुले मात्र घरजग्गाको व्यवसाय संचालन गर्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने सहरी विकास योजनाकार विपिन चित्रकारले धारणा व्यक्त गरे ।
यस्तै छोटो अवधिमा भएको कार्य विवरण प्रस्तुत गर्दै घरजग्गाको व्यवसायिक कारोबारको विकास तथा विस्तार गर्न र व्यवसायलाई मर्यादित एवं व्यवस्थित बनाउन महासंघमा आबद्ध सबै एकजुट हुनुपर्ने बन्द सत्रको समापन गर्दै सभापति तथा महासंघका तदर्थ कार्य समिति अध्यक्ष मीनमान श्रेष्ठले बताए ।
कार्यक्रममा व्यवसायीक हकहितका पक्षमा कलम चलाए वापत कैलाश खबरका सम्पादक रक्तिम दैलेखीलाई मायाको चिनो र खादालगाएर सम्मान गरिएको थियो । यस्तै व्यवसायीक हकहितका पक्षमा आवाज उठाएको भन्दै विभिन्न पदाधिकारीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
