सुर्खेत । खानी तथा भूर्गभ विभागले विसं २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री इण्डस्ट्रिज प्रालिलाई इजाजत दिँदा खुशी थिए, स्थानीयवासी । विकासले पिछडिएको क्षेत्रमा ठूलो सिमेन्ट उद्योग सञ्चालनमा आउने भएपछि सडक, विद्युत्को सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो ।
कम्पनीले आयोजनास्थलमा सम्पर्क कार्यालय खोलेपछि काम शुरु हुनेमा स्थानीयवासी उत्साही थिए तर इजाजत पाएको एक दशक नाघिसक्दासमेत उद्योग सञ्चालन पूर्वका तयारी नहुँदा चौकुनेवासी खिन्न छन् । कम्पनीले काम शुरु गर्ने आश्वासन मात्रै दिएको स्थानीयवासीको आरोप छ । स्थानीय तहको निर्वाचनताका घोषणापत्र सम्झँदै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने, “उद्योग सञ्चालन हुने आशामा युवालाई रोजगारी दिलाउने प्रतिबद्धता जनायौँ, तर कार्यकाल सकिन थाल्यो सिमेन्ट उद्योगले गति लिने आधार देखिँदैन ।”
कम्पनीले खानी ‘होल्ड’ गर्ने नियत राखेको बताए । गाउँपालिका र प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षकै बजेटबाट खानी क्षेत्रसम्म पहुँच सडक निर्माण गरिसकेको छ । कम्पनीले केवल आलटालमात्रै गरिरहेको छ । खानी उत्खननको पूर्वतयारीकाे काम पनि गर्न चाहेको देखिएन ।कम्तीमा खानी तथा प्लान्ट क्षेत्रको जग्गा अधिग्रहण गरेको भए आयोजना बन्ने टुङ्गो लाग्न सक्थ्यो । खानी क्षेत्रका बासिन्दाले जग्गा अधिग्रहणतर्फ कम्पनीले चासो नदिएको बताएका छन् ।
