भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटक पुग्ने गरेका हुन् । छेउमै रहेका रिगताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ । बागलुङ र पूर्वी रुकुम दुवैतर्फबाट सहज रूपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाइमा पातीहाल्ने पर्न थालेको हो ।

रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका-१ मा पर्छ । पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामा रिगताल पुग्न सकिन्छ भने आधा घण्टामा तिलाचन ताल पुग्न सकिन्छ ।

रिगतालसम्म मोटरबाटो पुगेको हुँदा आगन्तुक गाडीमा पनि पुग्न सक्छन् । बाह्रै महिना पर्यटकले भरिने पातीहाल्ने यो समय अझ बढी आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान)ले बताउनुभयो । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा यी ठाउँको प्रचार–प्रसार तीव्र रूपमा भएको हुँदा पातीहाल्ने पर्यटकको रोजाइमा परेको बताउनुभयो । केही वर्ष अगाडि निसीखोला गाउँपालिकाले पातीहाल्नेबाट रिगतालसम्म सडक पुर्याए पनि अहिले सीमा विवादका कारण पर्यटन पूर्वाधार बन्न नसकेको अध्यक्ष बुढामगरको भनाइ छ ।

‘पहिले त यहाँका चर्चा खासै थिएन, जब मध्यपहाडी लोकमार्ग कालोपत्रे भयो त्यसयता हजारौँ पर्यटक यहाँ आएर रमाउने गरेका छन्, ठाउँ निकै रमणीय छ, यहाँ थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने छ’, अध्यक्ष बुढामगरले भने, ‘अहिले केही समस्या परेको हुँदा काम गर्न सकिएको छैन, समस्या समाधान भयो भने पालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिएको छ।’

स्थानीय वीरबहादुर विकले दैनिक डेढ सय बढी आन्तरिक पर्यटक घुम्न आउने गरेको बताए । उनले हिउँसँग रमाउन र गर्मी छल्न आउनेको सङ्ख्या धेरै हुने गरेको बताए । विकले यहाँ घुम्न आउनेले स्थानीय उत्पादन आलु, सिमी, भाँगो र चोयाबाट बनाइएका सामान किनेर लैजाने गरेको सुनाए ।

‘यहाँ घुम्न आउने मान्छे एक ठाउँका मात्रै छैनन्, धेरै जिल्लाबाट आउने गर्छन्, कति टेन्ट टाँगेर दुई-चार दिन यही बस्ने रमाइलो गर्ने गर्छन्, यहाँ बस्दा खेरी लोकल कुखुरा, आलु किनेर यही नै पकाएर खान्छन्’, उनले भने, ‘स्थानीयलाई पनि पैसा हुने भयो, दुई वर्ष जति भयो धेरै मान्छेहरू आउन थालेको।’

यो याममा त अझ वरपर फुलेका लालीगुराँसले धेरैको मन लोभ्याउने गरेको छ । पातीहाल्ने पुग्ने अधिकांश पर्यटक रिगताल र तिलाचन तालमा पुग्छन् । सडकको सहज पहुँच भएको हुँदा बर्खामा पनि यहाँ पर्यटकको कमी हुँदैन ।

पूर्वी रुकुमबाट घुम्न आएका शिवकुमार खड्काले सडक सहज भएको हुँदा आफू पटक–पटक घुम्न आएको बताए । लोकमार्गमा यात्रा गर्दा पूर्वी रुकुमबाट लुकुमगाउँ हुँदै पातीहाल्नेसम्म अनेकौँ सुन्दर दृष्य अवलोकन गर्न सकिने हुँदा लामो बिदा पर्दा घुम्न आइराख्ने बताए ।

‘५/६ वर्ष अगाडि यहाँ एक पटक आएको थिएँ, यस्तो चहलपहल थिएन, यहाँ घर पनि बनेका थिएनन्, सुनसान थियो, अहिले यो ठाउँ निकै फेरिएको छ, अलि चोसो ठाउँ हो भयो, त्यही भएर गर्मी ठाउँबाट धेरै आउने गरेको पाइन्छ,’ खड्काले भने, ‘मुख्य कुरा त विकास नै रैछ, यो सडक नबनेको भए यो ठाउँ ओझेलमै हुन्थ्यो, तर अब उत्कृष्ट गन्तव्य मध्यमा पर्छ यो ।’

यो स्थानमा बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट एक घण्टामै पुग्न सकिन्छ । बिदाको दिन करिब ३ सय पर्यटक यहाँ पुग्ने गरेको स्थानीयको भनाइ छ ।

हिमाल दर्पणबाट साभार

 


Thali Mobile Pvt.Ltd.