पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष कैद सजाय

पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष कैद सजाय

काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा भ्रष्टाचार ठहर गर्दै पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई साढे ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ विशेष अदालतले जरिवाना तोकेको छ ।

उक्त भ्रष्टाचारमा मुछिएका कांग्रेस सांसद टेकबहादुर गुरुङलाई पनि जरिवाना तोकिएको छ । फनपार्कको ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएर भ्रष्टाचार गरिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको थियो ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीश शालिग्राम कोइराला, र बलभद्र बाँस्तोलाको इजलासले जग्गा भाडामा भ्रष्टाचार ठहर गर्दै न्यौपाने र गुरुङलाई सजाय तोकेको हो । भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेस सांसद गुरुङ निलम्बनमा परेका छन् ।

अदालतले सांसद गुरुङलाई १ करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ जरिवाना तोकेको छ । विशेष अदालतले फागुन १६ गते नै पूर्वमन्त्री न्यौपाने र गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको थियो ।

कसुरदार ठहरिएका न्यौपाने तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री हुन् । उनी समाजकल्याण परिषद्का तत्कालीन अध्यक्षसमेत थिए । उनी चुरेभावर पार्टीबाट मन्त्री बनेका थिए । नेकपा हुँदै एमालेमा गएका न्यौपाने उक्त पार्टीबाट पनि बाहिरिइसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.