कास्की । २०७४ मा निर्वाचित गण्डकी प्रदेशसभा सदस्यको ५ वर्षे कार्यकाल असोज १ बाट पूरा भएको छ । गण्डकी प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सांसदको सेवा सुविधामा मात्रै साढे ३३ करोड रुपैयाँ खर्च भएको छ ।
झन्डै ५ वर्षमा ३३ करोड ४२ लाख २९ हजार रुपैयाँ खर्च भएको हो । सांसदका लागि तलब, सदन र समितिका बैठक भत्ता, भ्रमण खर्च र पीएले पाउने तलब लगायतमा खर्च भएको सचिवालयले बताएको छ ।
यस्तै, सांसद तथा पदाधिकारीको आवास, फर्निचर, सञ्चार, धारा, बिजुली, निजी सचिवालय, सवारी इन्धन, मोबिल, अन्तरप्रदेश अनुभव आदानप्रदान, चियापान र कार्यालय सहयोगी तथा सवारी चालकका सेवासुविधामा खर्च भएको हो ।
गण्डकी प्रदेश सरकारले पटकपटक ऐन संशोधन गर्दै जनप्रतिनिधिको सेवासुविधा वृद्धि गराउँदै आएको थियो । गण्डकीमा तीनपल्ट सरकार बने पनि नेतृत्व भने दुई सरकारले मात्र लिए ।
संसद् सचिवालयको तथ्यांकअनुसार प्रदेश स्थापनाको वर्ष २०७४/७५ मा प्रदेशसभाका सदस्य र पदाधिकारीको पारिश्रमिक बापत १ करोड ३८ लाख ११ हजार १ सय ८८ रुपैयाँ खर्च भएको थियो ।
चालु आर्थिक वर्षमा साउनदेखि असोज तीन महिना मात्रै ४८ लाख ९९ हजार ८ सय ४० रुपैयाँ खर्च भएको छ । यस्तै, साउनयता, अन्य सुविधा फर्निचर, सञ्चार लगायतमा १६ लाख ४७ हजार ८ सय, सवारी इन्धन र मोबिलमा ४ लाख १७ हजार १ सय ६१ र स्वकीय सचिवका लागि ३७ लाख ९ हजार खर्च भएको छ ।
यस्तै चालु वर्षको तीन महिनामा सेवासुविधालगायत विभिन्न शीर्षकमा १ करोड ६ लाख ७३ हजार ८ सय ९० खर्च भएको हो । सांसदहरूले साढे ३३ करोड रुपैयाँ बजेट खर्च हुँदा प्रदेशमा सम्झनलायक काम भएको दाबी गरेका छन् ।
प्रदेश सरकारको पहिलो कार्यकाल सुरुबाट नयाँ संरचना खडा गर्दै काम गर्दा यत्तिको खर्च हुनु स्वाभाविक रहेको पूर्वसांसद विष्णुप्रसाद लामिछानेले बताए । सांसदहरूले आफ्नो कार्यकालमा सम्झनयोग्य थुप्रै काम भए पनि भौतिक पूर्वाधार भने बनाउन नसकेको स्विकारेका छन् ।
