प्राविधिक शिक्षा सञ्चालनको मेरो अनुभूती: जय प्रसाद तिमिल्सेना

प्राविधिक शिक्षा सञ्चालनको मेरो अनुभूती: जय प्रसाद तिमिल्सेना

शिक्षालाई सिपसंग, सिपलाई श्रम संग, श्रमलाई उत्पादन र उत्पादनलाई शु:ख,सान्ती र आनन्द संग जोड्ने लक्षलाई आत्मसाथ गरी चामुण्डा माध्यामिक विद्यालयलाई प्राविधिक शिक्षा दिने, व्यवहारीक शिक्षा दिने, जिवनमुखि सिपमुलक शिक्षा दिने, संस्थाको रुपमा अगाडि बढाउने २०७१ सालदेखि विभिन्न परिकल्पना र सोचको थालनी भयो।

वर्षौं सम्म शिक्षण संथामा पढेर उच्चतम अंक प्राप्त गर्ने  विद्यार्थीहरुसंग विद्यालय निपुक्दा हातमा एउटा सर्टिफीकेटको पाना बाहेक कुनै पनि सिप ,क्षमता, दक्षता, स्वाभिमानी तथा आत्मनिर्भर हुने आत्मविश्वास नदेखियकाले वेरोजगार मात्र उत्पादन गर्ने हाम्रा विद्यालयलाई रोजगार मुलक शिक्षा दिने संथाको रुपमा विकास गराएर हरेक व्यक्तिको जिवनमा आयमुलक पर्ने सिपलाई विद्यालय भित्रै दिएर हरेक बालबालिकालाई प्राविधिक शिक्षा तर्फ लैजाने उदश्यले चामुण्डा मा.वि.मा २०७२ सालबाट कृषि जे.टि.य.को कक्षा संचालन गर्ने दृढ संकल्प गरेर सोचलाई व्यवहारमा लैजाने प्रक्रियाको थालनी भयो।

प्रत्यक व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्राकृतिक रुपमा प्रस्फुटन गराउने दक्षता मुखि, व्यवहारीक र वैज्ञानिक शिक्षाको व्यवहारीक प्रयोग चामुण्डाको स्वर्ण भुमिवाट थालनी गर्ने उदेश्यले नेपाली माटोमा संञ्चानन गरियका केहि प्रयोगात्मक शिक्षा सञ्चालन भएका शिक्षण संथाहरुको अध्यापन अवलोकन पश्चात CTEVT बाट संम्बन्धन लियर कृषि जे.टि.य.को तालिम चलाएर यस विद्यालयमा प्राविधिक शिक्षाको थालनी गर्ने निश्कर्षमा पुगियो।

२०७२ साल वर्षे विदाको समयमा तत्कालीन वि.व्य.स. अध्यक्ष रामबहादुर शाही र अन्य सदस्यहरु संगको परामर्शमा शिक्षक साथीहरु, विभिन्न राजनैतिक दलका व्यक्तिहरुसंग छिमेकि विद्यालयका प्र.अ. संग स्थानिय संगको सल्लाहमा प्राविधिक शिक्षाको विकास गर्ने अभियानको थालनी भयो।

हाम्रो जस्तो विकट ठाउँमा प्रशिक्षकको समस्या, ल्याब ,लाईब्रेरी ,प्रयोगात्मक फिल्ड तथा भौतिक समस्या भएको विद्यालयमा प्राविधिक सञ्चालनको कुरालाई हाम्रै विद्यालयका शिक्षक कर्मचारीहरुको मन जित्न निकै कठिनाई भयो। चारै तिर सम्भव छैन, सकिदैन, काल्पनिक हुन्, मनका लड्डु हुन् , भन्नेको भिडभाड थियो। मेरो हृदयबाट उब्जियको प्राविधिक शिक्षाको अङ्कुराहरुलाई प्रस्फुटन हुन नदिने धेरै चलखेलहरु पनि भए।

ति सबै चुनौतिहरुले मलाई अगाडि बढ्न थप उर्जा दियो। स्कुलमा आर्थिक समस्याले निजी स्रोतका शिक्षक कर्मचारीहरुको तलव भत्ता दिन मुस्किल भईरहेको थियो । थप प्राविधक शिक्षाको लागि खर्च जुटाउन धेरै चुनौति थियो भने अधिकांस व्यक्तिहरुमा प्राविधिक शिक्षा सञ्चालन हुने विश्वास थियन । अनुमति प्राप्त हुनेमा विश्वास थियन। यस्तो अवश्थामा खर्चको व्यवश्था मिलायर अनुमति ल्याउदा निकै चुनौती भयो।

हरेक चुनौतिहरुलाई अवसरमा बदल्ने, समस्याहरुलाई सफलताको खुड्किलाको रुपमा लिने  बानिले हाम्रो अभियान अगाडि बढाउन छिमेकी विद्यालयहरुका प्रअ संग धेरै परामर्श र सल्लाह गर्दा धेरैबाट सकरात्मक सुझाव र सल्लाह प्राप्त भयो।सुझाव र सल्लाहले मात्र प्राविधिक शिक्षा सम्भव थियन। आर्थीक चुनौती सबैभन्दा जटील थियो।स्थानिय सरकार थियन।

गाउँ विकास समितीसंग कुरा राख्ने समय अनुकुल थियन र जनप्रतिनिधीहरुको मन जित्न सकियको थियन।यसरी प्राविधिक शिक्षाको थालनीको लागी आनन्द माविका प्र.अ. देविरामा तिमेल्सेनाबाट रु १ लाख, भैरब निमावि बास्ठानाका प्र.अ. कृष्ण प्रसाद कंडेलबाट रु ५० हजार, आदर्श प्रा.वि.का प्र.अ. दिपक शाहीबाट रु २५ हजार सापटी प्राप्त भयो।

अपुग रकम जुटाउन चामुण्डा मा.वि.का शिक्षक नगेन्द्र खत्रिले रु १ लाख, तुलाराम सुबेदिले १ लाख चलन चल्तिको गाउँले व्याजमा खोजेर सहयोग गरी चामुण्डा मा.वि.मा वाली विज्ञान सन्चालनको एउटा वलियो आधार  तयार भयो। प्राविधिक शिक्षाकोलागी प्रस्तावना तयार शैक्षिक योग्यता पुगेका प्रशिक्षकको व्यवश्था गर्न विद्यालयमा पुर्वाधार तयार गर्ने काममा भोगेका समस्याहरु विश्मरणीय रहेका छन्।

CTEVT बाट अनुमति प्राप्त गर्ने क्रममा भएका जडिलताहरु, झंझटहरु, दुख र पिडाहरुले ठुलो शिक्षा प्राप्तिको अवसर मिल्यो। हजारौं जटिलतालाई चिर्दै अनुमतिका सबै सर्त पुरा गरेर CTEVT ले अनुमति दिने क्रममा भएका अस्वभाविकहरुको छुट्टै रामकहानी छ, जो भोग्नेले मात्र महशुस गरेको हुन्छ ।भनेर सुनेर विश्वास लाग्दैन।

माथिल्लो तहमा बस्ने व्यक्तिहरुमा सकरात्मक सोचको अभाव स्पष्ट महशुस भयो। चामुण्डा मा.वि.लाई प्राविधिक शिक्षाको अनुमति दिलाउन केन्द्रमा भुमिका खेल्नुहुने गंगारामा तिमिल्सेना र शुशिल रावतको महत्वपुर्ण योगदान रहेको छ।यदि उहाँहरुको सहयोग विना हामि यति छिटो वर्तमान अवस्थामा पुग्न कठिन हुने थियौं।

प्राविधिक शिक्षाको थालनिमा विभिन्न निकायबाट तथा व्यक्तिहरुबाट लियको ऋण सापटि तथा दौडधुपको क्रममा लागेको खर्चलाई व्यवश्थापन गर्न प्रअ..को नाताले आफ्नो घर बैङ्कमा धरौटी राखेर ऋण निकालेकोमा अझसम्मा चुक्ता हुन सकेको छैन।कुनै पनि संथामा बस्ने व्यक्तिले पहिलो प्राथमिकता घरलाई दिय घर राम्रो हुन्छ र विद्यालयलाई दिए विद्यालय राम्रो हुन्छ भन्ने सोचले काम गर्दा अहिले विद्यालयको चौतर्फि प्रगतिले आँफुलाई गौरव महशुस भएको छ।

यसरी चामुण्डा माविले २०७२ सालमा प्राविधिक शिक्षाको अनुमति पश्चात विद्यालयमा वि.व्य.स., शि.अ.स. संग राजनैतिक खुसियाली आदानप्रदान गर्ने वेलामा केहि नकरात्मक सोच भएका व्यक्तिहरु जो सुरु देखि नै प्राविधिक शिक्षाको विरुद्धमा थिए।उनिहरु CTEVT बाट रुपियाँ पनि आउनु पर्छ अनुमति पत्र मात्र स्कुलमा आयो रुपयाँ पैसा खै भनेर प्रश्न गर्ने व्यक्ति पनि भेटिए।

मैले सधै मलाई आलोचना गर्ने, विरोध गर्ने, असहयोग गर्ने, चुनौती दिने सबैलाई सबैभन्दा महत्वपुर्ण गुरुको रुपमा लिने गरेको छु।साहेद मेरो बाटोमा चुनौतीका तगराहरु नतेस्रायको भए मेरो शैक्षिक अभियान यति उचाईमा पुग्ने थियन होला।त्यसैले उहाँहरु मेरो धन्यवादका पात्रहरु हुनुहुन्छ। फुलको आँखामा फुलै संसार काँडको आँखामा काँडै संसार भन्ने गितको भावलाई हृदयमा राखेर हाम्रो अभियान अगाडि बढ्यौ।

प्राविधिक शिक्षाको चामुण्डामा जग बनाउन सबैभन्दा धेरै भुमिका खेल्ने प्रशिक्षक रमेश कंडेल, दिपक सापकोटा ,रमेश केशि प्राविधिक शिक्षाका आधार स्तम्भ हुनुहन्छ।पारिश्रमिक नभएर पनि धेरै मेहेनत गरेर प्रशिक्षण कार्यलाई नमुनाको रुपमा देखाउनु भयो।पहिलो वर्षमा प्रचार प्रसारको अभाव सबैमा सकरात्मक सोचको अभाव तथा हामिले सबैको विश्वास जित्न नसक्नाले विद्यार्थिहरुको अभाव भयो।

नाम लेख्न आउने विद्यार्थिलाई नकरात्मक सन्देश दिने, निरुत्साहित बनाउने ,प्राविधिक शिक्षामा पढ्ने र पढाउने लाई खिस्सि गर्दै हिड्ने, प्र.अ.का विद्यार्थी प्र.अ.का शिक्षक भनेर हेला गर्ने ,होच्याउने ,अपमान गर्ने, पसलहरुमा सोमरसको चुस्कि लिदै प्राविधिक शिक्षाको विरोध गर्ने, असफल हुन्छ भन्दै नकरात्मक सन्देश दिनेहरुको कमि थिएन।

यस्तो नकरात्मक वातावरण सकरात्मक वनाउन हाम्रा प्रशिक्षकहरुले तलव भत्ता सेवा सुविधालाई ध्यान नदियर रात दिन मेहेनत गर्नुभयो। साँझ विहान विदाको दिन लाई समेत शैक्षिक क्रियाकलापमा खटियर चामुण्डा माध्यामिक विद्यालय भित्रै थोपा सिचाई प्रविधिबाट तरकारी खेतिको नमुना, कौशि खेतिको नमुना ,विद्यालय भित्रै च्याउ उत्पादन, नर्सरी निर्माण, चामुण्डा नगरपालीकामै सबैभन्दा पहिले पोलीहाउसमा बेमौसमि तरकारी खेती आदि नमुना काम गरेर शिक्षालाई उत्पादन संग सिपसंग जोड्ने काम भयो।

विद्यालय र अभिभावक विच प्राविधिक शिक्षाले धेरै राम्रो सम्बन्ध जोडियो।यसरी पढ्दै कमाउँदै गर्ने हाम्रो विद्यालयको प्राविधिक शिक्षाको प्रभाव चारै तिर सकरात्मक रुपले फैलियो।नकरात्मक स्वरहरु विस्तारै कमजोर हुदै गए। चामुण्डा मा.वि.ले ‘आउ पढ कमाउ जाउ’ भन्ने अभियानलाई अगाडी बढाउँदा हामिप्रति विभिन्न संघ संस्थाहरु सरकारी निकायहरु, जनप्रतिनिधिहरु, बुद्धिजिविहरुमा सकरात्मक प्रभाव पर्यो हामिमा हौसला बढ्यो।

चामुण्डा मा.वि.लाई बहु प्राविधिक विद्यालय बनाउने तिन वर्षे वाली विज्ञान(Isc Ag) संचालन गर्ने, पशुविज्ञान ,वनस्पति विज्ञान, आयुर्वेद विज्ञान ,प्राकृतिक चिकित्शा, जडिबुटि सम्बन्धिको तालीम संचालन गरी चामुण्डा मा.वि.लाई बहु प्राविधिक शिक्षालय बनाउने सपनाले हामिलाई सन्तोषसंग बस्न दिएन। तिन बर्षे वाली विज्ञानको प्रक्रियामा हामि लाग्यौं।

अहिले प्रत्यक स्थानिय निकायमा एउटा प्राविधिक शिक्षा भन्ने सरकारको निति भएर प्रक्रिया सजिलो भएतापनि तत्कालिन समयमा सामुदायिक विद्यालयमा ३ वर्षे प्राविधिक शिक्षाको अनुमति प्राप्त गर्न धेरै जटिल थियो। धेरै खर्चिलो झंझटिलो  र लामो थियो।हामिसंग योग्य प्रशिक्षक थिएनन्, कृषि ल्याव थियन, विज्ञान प्रयोगशाला थियन, प्रयाप्त प्रयोगात्मक कार्यको लागि जग्गापनि थिएन, लाईव्रेरी थिएन ,भौतिक श्रोत साधन थिएन ,धरौटिको लागि आवश्यक २५ लाख थिएन ।

सम्बन्धन शुल्क अनुगमन शुल्कको लागि लाग्ने रकम पनि थिएन।प्रक्रियाको लागि दौड धुप गर्ने खर्च हामिमा थिएन।कम्तिमा ५० लाख मात्र रुपँया भएपछि मात्र हाम्रो अभियान अगाडि बढ्न सक्थ्यो तर हामि संग १/२ लाख रुपँया पनि वचत थिएन।

तिन वर्षे वाली विज्ञान संचालनको लागी धेरै चरणका छलफल पछि चामुण्डा मा.वि.लाई बहुप्रवाविधिक शिक्षाका आधार तयार गर्ने उदेश्यले वि.व्य.स. अध्यक्ष नन्द बहादुर शाहि, वडा अध्यक्ष निरक वहादुर शाही, कार्यपालीका सदश्य दिनेश विक, विव्यस सदस्य नन्दा विष्ट, नरबहादुर शाही ,निरक वहादुर शाही, राजेन्द्र शाही र प्र.अ. जय प्रसाद तिमिल्सेनाको टिम माग पत्र लियर चामुण्डा विन्द्रासैनि नगरपालिका पुग्यौ।

नगर प्रमुख सुर्य बहादुर शाही ,उपप्रमुख तारा शाही लगायत अन्य प्रतिनिधीहरुसंग भएको छलफलबाट सकरात्मक सुझाव र १० लाख अनुदान दिने वचन प्राप्त गर्यौं।तिन वर्षे वाली विज्ञान प्रक्रियाको थालनी गर्न रु २५ लाख धरौटि अनिवार्य थियो।अन्य धेरै पुर्वाधारहरु अनिवार्य थिए।हामिलाई खुसिसाथ नगरपालीकाले छुट्याएको १० लाख लिन हामिलाई धेरै कठिन भयो।

केहि वुद्धिजिवी भन्न रुचाउनेहरु केहि जनप्रतिनिधी स्वयमले प्राविधीक शिक्षा निजि हो, यो जय प्रसाद तिमेल्सेनाको हो, अनुदान दिन हुदैन भनेर अन्तीम समय सम्म लागिरहे।हाम्रो उदेश्य महान थियो हामिलाई व्यक्तिगत कुनै स्वार्थ थिएन, हाम्रो विद्यालयलाई राम्रो बनाउने एकमात्र उदेश्य थियो।

हाम्रो अग्रगामि यात्रामा विभिन्न वाधा व्यवधानहरु आईरहे तर हामिले अवरोधहरुवाई सकरात्मक शिक्षा र उर्जा लिदै अगाडी बढिरयौं।धरौटीको लागि  आवश्यक २५ लाखको खोजिका वडा अध्यक्ष निरक बहादुर शाही र प्र.अ. जयप्रसाद तिमेल्सेना  विद्यालयवाट हिड्यौं। धेरै व्यक्तिहरुलाई भेट्यौं व्यावसायीहरु व्यापारीहरु संग छलफल चलायौं, मिश्रित प्रतिक्रिया पायौं।

शिक्षक कर्मचारीहरुसंग भेट्यौं खासै समाधानका उपायहरु भेटीएन।यहि दौड धुपमा हामिले भर्खरै बैंकिङ्ग सेवाबाट निवृत हुनु भएका शिक्षा प्रेमि समाजसेवी बौद्धिक व्यक्तित्व केसेन्द्र कार्किसंग फोन सम्पर्क गरी हाम्रो समस्याको भारी सुतायौं।उँहाले सहजै २० लाख सापटि खोजि दिने र वाँकि ५ लाख हामिले जुटाउने सल्लाह भयो।

तर हामिले हाम्रो जिम्माको ५ लाख पनि जुटाउन सकेनौ र बाँकि ५ लाख पनि केसेन्द्र सरबाट व्यवस्था मिलाईदिने कुरा भयो। हाम्रो प्रत्यक्ष भेटघाट नभएर ने फोनको आधारमा महान सोच भएका केसेन्द्र सरले विना संकोच काठमान्डौबाट रु २५ लाख पठाईदिनुभयो र हामिले प्राविधिक शिक्षाको लागि धरौटी राख्न सफल भयौं।

धरौटी राख्ने अन्तिम दिन थियो ।समय सकिनु भन्दा केहि घण्टा पहिले तोकियको धरौटी जम्मा गरी CTEVT मा प्रस्तावना पेश गर्यौं।शिक्षा प्रेमि केसेन्द्र कार्किले २०६५ सालमा चामुण्डा कलेज स्थापनाको लागि रु १० लाखको समस्या पनि समाधान गरीदिनुभएको थियो।यदि उहाँको त्यो महान सहयोग नभएको भए चामुण्डा कलेज र चामुण्डा मा.वि. अहिलेको अवश्थामा पुग्न केहि ढिला हुने थियो।

तिन वर्षे वाली विज्ञानको प्रशिक्षकको लागी त्रिभुवन विश्व विद्यालयबाट कृषि संचालन भएका विभिन्न कृषि कलेजहरुमा पुगेर प्रमाणपत्र सङ्कलन गरि CTEVT मा हामिले हाम्रो दावी पेश गर्यौं। CTEVT ले अनुगमन गर्न थाल्यो।CTEVT ले तोके अनुसार हामिसंग पुस्तकालय, विज्ञान प्रयोगशाला, कृषि प्रयोगशाला ,प्रयोगात्मक जग्गा, फर्निचर केहि थिएन।

अनुगमन टिम विद्यालय पूग्नु पूर्व सवै व्यवस्थापन गरीसक्नु पर्ने थियो।म काठमाण्डौमा प्राविधिक शिक्षाको चाँजो पाँजो मिलाउन काठमाण्डौ बस्नुपर्ने भएकोले वि.व्य.स. अध्यक्ष नन्द बहादुर शाही, स.अ. राजेन्द्र शाही, स.अ. काँशीराम सापकोटा, दिनेश विक, निरक शाहीको टिम ल्यावको पुर्व तयारीको लागी जनज्योती मावि बड्डिचौर पुग्नुभयो।त्यहिबाट फर्निचरको व्यवस्थापन दिनेश विकले मिलाउने जिम्मा लिनुभयो।

कृषि ल्याब तथा विज्ञान प्रयोगशालाको लागि आवश्यक सम्पुर्ण सामाग्री चाविनपा ३ मा जन्मनु भएका हाल विरेन्द्रनगर सुर्खेत कर्णाली साईन्स एण्ड सर्जिकलका प्रमुख युवा वैज्ञानीक राजेन्द्र विष्टले रु १२ लाख बरावरको सामाग्री जुटाईदिनुभयो।हामिसंग न्युनतम व्यवश्थापन गर्ने रुपया समेत थिएन। मेरो घर पहिले ने बैङ्कमा थियो।

खर्च व्यवस्थापनको लागि हाम्रा शिक्षक काशिराम सापकोटाको घर धरौटीमा राखेर रुपँया निकाल्यौं। विनि लोकेन्द्र शाहिबाट सापटी रकम लियौं।जिवन आचार्य र तुलाराम सुवेदिबाट ऋण लियर तत्कालीन समस्या समाधान गर्यौं। CTEVT बाट अनुगमनमा आउनुभएका गिता केशि ज्युले हाम्रो मेहेनत हाम्रो तयारी लक्ष्य र उदेश्यबाट सकरात्मक प्रतिक्रिया दिनुभयो।

अंतत CTEVT ले चामुण्डा माविलाई २०७४ सालमा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तरगत ३ वर्षे वाली विज्ञान संचालनको अनुमति दियो। धेरै दुख मेहेनत र लगानिबाट ३ वर्षे वाली विज्ञान संचालनको लागी सम्बन्धनको पत्र त हामिले प्राप्त गर्यौं तर चारै तिरबाट सापटी लियको करिब ५० लाख रकमको व्यवस्थापन कसरी गर्ने ?

प्रशिक्षकहरुलाई प्रति व्यक्ति प्रतिमहिना ५०/६० हजारको दरले कम्तिमा ३ जनालाई कसरी तलव व्यवश्थापन गर्ने ?जस्ता समस्याले ज्यादै पिरोली रह्यौ।कैयौं दिन सुत्न सकिएन।व्यक्तिगत समस्याले एकातिर सताईरहने स्कुलको समस्याले अर्कोतिर पिरोलीरहने, प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरु विभिन्न सुविधा उपयोग गर्न खोज्ने हेर्दा चारैतिर झीलमिल छ चहलपहल छ, लोभलाग्दो छ ,काठमाण्डौ सुर्खेत धेरै दौड धुप गरिरहनुपर्ने बाध्यता छ ।

समस्या बुझिदिने व्यक्ति कोहि नहुने सबैल रिस र डाहा गर्ने समस्या मात्र थुप्रि रहदा कहिलेकाही धेरै तनाव र निराशा उत्पन्न हुने रहिछ।समाजकोलागी दिनरात खटिरहँदा बुझ्नेले कुरा नबुझेपछि धेरै पिडा बोध हुने रहिछ।समस्यालाई सफलताको खुड्किलाको रुपमा र चुनौतीलाई अवसरको रुपमा उपयोग गर्ने बानि भएकोले डटेर चुनौतीलाई कुल्चियर अगाडि बढियो।

सम्बन्धन प्राप्त पछि CTEVT लाई छलेर बैंक संग मिलेर धरौटि राखेको २५ लाख झिकेर फिर्ता गरिदियौं।पहिलो बर्षको श्रावणमा छुट्यायको नगरपालीकाको १० लाख रुपया आर्थिक वर्षको अन्त्यमा प्राप्त भयो र केहि गाउँ घरबाट ब्याजमा ऋण लिएर समस्यालाई पछाडि धकेल्यौं।  हाम्रो अभियानलाई अगाडि बढाउन जुनसुकै वेला पनि आवश्यकता अनुसार आर्थिक ऋण सहयोग प्रदान गर्ने श्रमजिबी बचत तथा ऋण सहकारी संस्था र यसका अध्यक्ष धिरज विकको ठूलो सहयोग रहेको छ  ।

अनुमतिको क्रममा रु ३ लाख निर्व्याजी रुपमा विद्यालयलाई सहयोग गरेर चामुण्डा माविमा प्राविधिक शिक्षा सुरु गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।  यसरी विभिन्न कष्ठ र चुनौतिहरुसंग जुद्दै र संघर्ष गर्दै हामिले चामुण्डा माविलाई साधारण शिक्षा र प्राविधिक शिक्षा सञ्चानलन गर्ने विद्यालयको रुपमा राष्ट्रिय स्तरमै आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सक्यौं।

नगरपालिकाबाट

चा.वि.न.पा.ले प्राविधिक शिक्षा संचालनकोलागी  पहिलो बर्ष रु १० लाख अनुदान दिएको थियो भने दोस्रो बर्ष रु ३५ लाख सहयोग प्राप्त भयो। चा.वि.न.पा. ३ बाट विनियोजित गरेको रकम र नगरपालीकाको अनुदान बाट चामुण्डा मा.वि.को जग्गा स्थापनाको करिब १० रोपनिबाट बढाएर ५० रोपनीमा पुर्यायौं।संघिय सरकारबाट विज्ञान प्रयोगशाला र ICT को अनुदान प्राप्त भयो। जसबाट चामुण्डा माविको प्राविधिक शिक्षाको बलियो आधार स्थापित हुन पुग्यो।

हाम्रो विद्यालयको ‘आउ पढ कमाउ जाउ’ भन्ने अभियानलाई चाविनपाले आत्मसाथ गर्यो। हामिले जंगलका मेलहरुलाई नास्पती बनाउने अभियानलाई चलायौं। ‘एक घर एक विद्यार्थी एक करेशाबारी’ बनाउने अभियान चलायौं। ‍नगरपालीकासंग मिलेर गाउँ गाउँ मा बेमौसमि तरकारी खेतिकोलागी ‘एक घर एक पोली हाउस निर्माण’ अभियान संचालन गर्यौं। आर्गानिक तरकारी उत्पादनकोलागी विभिन्न तालिमहरु संचालन गर्यौं।

गड्यौला मल उत्पादन प्रविधी संचालन गर्यौं।विद्यार्थीहरुलाई आत्मनिर्भर हुने ‘पढ्दै कमाउदै सिक्दै सिकउदै’ विभिन्न अभियानहरु अगाडी बढायौं। हाम्रो प्राविधिक शिक्षाको प्रभावकारीताको अनुगमनको लागी तत्कालीन कर्णाली प्रदेश योजना आयोगका उपादक्ष्य उपकुलपती डा. पुण्यप्रसाद रेग्मि ,CTEVT प्रमुख विभिन्न राजनैतिक दलका व्यक्तित्वहरु, जनप्रतिनिधिहरु, शिक्षा विदहरु, संघ संस्थाका व्यक्तित्वहरु पटक पटक अनुगमनमा आएर थप उर्जा दिने काम चलिरह्यो।

EVENT II लागु

नेपालभरीक राम्रो अभ्यास गरेका विद्यालयहरुको नेपाल सरकार शिक्षा मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय सम्मेलनमा चामुण्डा मावि पनि छनौट भयो।कर्णाली प्रदेशबाट जनज्योती मावि र चामुण्डा मावि सहभागी भएका थिए।

उक्त सम्मेलनमा विव्यस अध्यक्ष नन्द बहादुर शाहि, प्र.अ. जयप्रसाद तिमिल्सेना वडा अध्यक्ष निरक बहादुर शाही, कार्यपालीका सदस्य दिनेश विक ,तत्कालीन नगर शिक्षा प्रमुख रछाने लुहारको सहभागीता थियो।उक्त सम्मेलनको दौरातमा  हाम्रो विद्यालयको सम्बन्ध थप फराकिलो बन्यो र हाम्रो सम्बन्ध थप उचाईमा पुग्यो।

त्यहि अवस्थामा विभिन्न राष्ट्र अन्तरगत विश्व बैंकको ऋण सहयोगबाट संचालन भएको परियोजना EVENT II संग हामि सम्पर्कमा आयौं। पहिलो बर्ष हाम्रो तयारिको अभावमा हाम्रो विद्यालयमा उक्त परियोजना लागु हुन सकेन।

दोस्रो बर्षमा हाम्रो शिक्षक कर्मचारी, व्यवस्थापन समिती ,बुद्धिजिवि साथीहरुको संयुक्त पहलमा एक करोड पचास लाखको EVENT II परियोजना हाम्रो विद्यालयमा लागु भएर अहिलेसम्म पनि काम चलिरहेको छ।जसले चामुण्डा माविको अनुहारमा नया चमक ल्यायको छ।

बहुप्राविधिक शिक्षाकाे गुरू याेजना

चामुण्डा माविलाई बहुप्राविधिक शिक्षालय बनाउने उदेश्यले करिब १० लाखको लागतमा १८७ रोपनी जग्गामा  राष्ट्रियताका विज्ञहरु संगको सहयोगमा दक्षतामुखि विद्यालयको DPR तयार गरी प्राविधिक शिक्षाका कामहरु अगाडी बढिरहेका छन्।

१८७ रोपनी भित्र वाली विज्ञान, पशु विज्ञान ,बनस्पति विज्ञान ,आयुर्वेद विज्ञान,  जडीबुटी, प्राकृतिक चिकित्सा, पर्यटन ,योग, ध्यान लगायतका विभिन्न तालीम सन्चालन गर्ने चामुण्डा माध्यामिक विद्यालयलाई बहुप्राविधिक विद्यालयमा रुपान्तरण गराई चामुण्डा नगरपालीकामा ‘एक घर एक प्राविधिक’ उत्पादन गर्न सहयोग पुर्याउने र यहाँका अभिभावकहरुलाई वुद्धिजिविकरण गर्न सहयोग गरी अगाडि बढाउने गुरु योजनाले स्पष्ट मार्ग दर्शन गरेको छ।

छाेटाे अवधिकाे धेरै तालिक सञ्चालन

कुरा २०७५सालको हो। हाम्रो विद्यालयले शिक्षा क्षेत्रमा नया आयम थपिरहेको थियो।शिक्षालाई श्रम ,सिप ,उत्पादन र खुसिसंग जोड्ने उदेश्यले चा.वि.न.पा.का सबै वडाहरुमा ‘एक वडा एक सिपमुलक तालिम’ संचालन गर्ने CTEVT कार्यलयसंग सहकार्य योजना बनायौं ।

तर, हामिले धौ धौ ३ वटा तालीम संचालनको स्विकृत पायौं।शिक्षाको जग वालविकास भएकोले स्थानिय सरकारलाई सहयोग गर्न चामुण्डा माविले नगरपालीका भित्रका प्राय सबै वालविकासका स.का.हरुलाई मन्टेश्वरी तालीम संचानन गर्यौं।व्यवसायिक तरकारी खेतिको तालिम संचालन गर्यौं।

छोटो अवधिका तालीमा संचालनको केहि समय पछि CTEVT का तत्कालीन प्रमुख भिमकान्त लामिछानेले कार्यालयमा खवर गरि केहि तालीमका कोटाहरु वचेका छन, संचालनको लागी सल्लाह गरौं भन्नुभयो।हामि संग प्रयाप्त जनशक्ति थियन ,साधन स्रोत थिएन, हाम्रो चाहाना पनि थिएन।हाम्रो रुचि नहुदा नहुँदै पनि तत्कालीन CTEVT का प्रमुख भिमकान्त लामिछाने, CTEVT केन्द्रियका खेम पोखरेल,

तत्कालिन सरकारका मन्त्रिज्यु, माननिय ज्यु, केहि पत्रकारहरुको सल्लाह अनुसार चामुण्डा माविले १०० वटा कोटाको सम्झौता गरिदिने तालिम संचालनका सबैकाम ईलाईट र ईयाम्पर कम्पनिले संचालन गर्ने त्यसको लागि विद्यालयलाई १० लाख नगद सहयोग गर्ने EVENT II मा परियोजनाबाट एक करोड पचास लाखको सम्झौतामा सहयोग गर्ने,चामुण्डा माविलाई नमुना माविमा छनोट गर्न पहल गराउने सहमति भयो।

प्रशिक्षक खोज्ने तालीम संचालन गर्ने, डकुमेन्ट तयार गर्ने देखि लियर सम्पुर्ण काम ईलाईट कम्पनिले गर्ने गरी उक्त कम्पनिमा प्रमुख उपेन्द्र शाही र चामुण्डा मावि विच एउटा सम्झौता गरियो।खासै हाम्रो चाहाना नहुदा नहुदै पनि गरियको सम्झौतालाई लियर धेरै विवाद सिर्जना भयो।CTEVT बाट विनोद वडालको अध्यक्षतामा जाँचबुझ समिती बनायौं।

हामिले तालिम रद्य गरौं भनेता पनि भएन।तालीमा संचालन भएपछि ३/४ पटक CTEVT ले अनुगमन गरी सकरात्मक प्रतिक्रिया दियो ।सामाजिक विकास मन्त्रालयबाट अनुगमन भयो ।सबै सहभागिहरुको अनलाईन फार्म CTEVT भित्र बाटै भरियो।सिप परिक्षण गराईयो।सबै कागजात मिलेको CTEVT को प्रतिवेदन महाँलेखाको सकरात्मक चेकजाँच भएकाले हामिले सम्पुर्ण रकम भुक्तानि गरिदियौं।

अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै कागजात कव्जा गरी अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा धेरै पटक सोधपुछ पनि गर्यौ अझै टुङ्गियको छैन।व्यक्तिगत रुपले केहि तनाव भएपनि चामुण्डा मावि नमुना मावि बन्यो।

EVENT II ले शैक्षिक सुधारमा लगानि गर्यो र अहिले चामुण्डाले पुर्ण रुपमा नयाँ काचुली फेरेको छ।छोटो अवधिको तालीमबाट विद्यालयको खातामा १३ लाख वचत गरी विद्यालयको अन्य काममा लगानि गरियो ।विद्यालयको सम्पुर्ण भौतीक संरचना नयाँ बनेका हुन्।विद्यालयको जग्गा १० रोपनीबाट ५० रोपनी पुगेको छ।हरेक वर्ष निरन्तर करोडौँ रकम विद्यालयमा आईरहने परिस्थिती बनेको छ।

शिक्षक कर्मचारी तथा विव्यससंगकाे सम्बन्ध

प्राविधिक शिक्षा संचालनको सुरुवाति चरण देखि वर्तमान अवस्थामा आईपुग्दा सबै शिक्षक कर्मचारीबाट सधै सकरात्मक सहयोग सल्लाह प्राप्त भयो। आँफु विद्यालयमा नहुदा पनि विद्यालय भित्रका सबै कामकाजहरु कमि हुन कहिल्यै शिक्षक साथिहरुले दिनुभएन। त्यहि  शिक्षकका कर्मचारी सञ्चय कोषलाई समेत  केहि समय विद्यालयको काममा खर्च गर्दा पुर्ण सहमति प्राप्त भईरह्यो।

सायद सबै शिक्षक कर्मचारीले मलाई धेरै विश्वास माया र सहयोग नगरेको भए यो अवश्थामा पुग्न सकिने थिएन। प्राविधिक शिक्षाको लागि खर्च जुटाउने काम खर्च गर्ने काम, दौड धुप गर्ने क्रममा लाखौं लाखको कारोबार गर्दा वि.व्य.स.को निर्णय विना लेखाको नियमअनुसार श्रोत नमिलेको अवश्था प्रक्रिया नपुगेको अवश्थामा पनि एक शब्द नबोली आर्थीक काममा पुर्ण सहयोग गर्ने र नमिलेका प्रक्रिया पुरा गर्न सहयोग गर्ने लेखापालको सहयोग धेरै छ।

मेरो कार्यकालमा मेरो दस्तखत अध्यक्षले र अध्यक्षको दस्तखत मैले विस्वासको आधारमा गरेर धेरै ठुला कामहरु सम्पन्न भएका छन्।कुनै दिन पनि शिक्षक कर्मचारी विच, वि.व्य.स. विच अभिभावक विच विद्यार्थीहरु विच मनमुटाव भएन।संधै मेत्रि पुर्ण व्यवहार भयो जसले अगाडी बढ्ने हौसला दियो।

भावि योजना

सिपमुलक, दक्षतामुखि, बहुप्राविधिक आवाशिय कलेज स्थापना गर्ने हाम्रो दृघकालीन योजना रहेको छ। २१ ‌औं शताब्दिको चुनौतीहरुसंग जुध्न सक्ने युवाहरुको लागी आवश्यक सबै गुणहरुको विकास गराउने उदेश्यले स्थापना हुन लागेको बहुआयामिक कलेजले शिक्षालाई श्रमसंग कसरी जोड्न सकिन्छ ? भन्ने विषयलाई पहिलो प्राथमिकतामा राखियको छ।

सनातन गुरुकुल शिक्षाको ज्ञान आचरण देखि व्रर्तमान विज्ञानका नविनतम प्रविधिको संयुक्त सकरात्मक उपलब्धिहरुको सार नै मुख्य विषय हुने छन्।बुद्धको ज्ञान, ओसोको ध्यान र माक्सको विज्ञानलाई समेत आत्मसाथ गर्दै मानवलाई नयाँ मानिसको रुपमा विकास गराउने लक्ष्य रहेको छ।विज्ञानको अभावमा चलिरहेको सनातन गुरुकुल शिक्षालय तथा नैतिकताको अभावमा लम्किरहेको निर्दयी वैज्ञानिक शिक्षालाई एकै ठाउँमा राखि मानिसका ३ वटै मस्तिस्कलाई समुचित रुपले विकास गराउने लक्ष्य रहेको छ।

बहुप्राविधिक कलेजमा वाली विज्ञान ,पशु विज्ञान, वनस्पति विज्ञान, जडिबुटि, आयुर्वेद र प्राकृतिक चिकित्साका तालिम संचालन गरिने छ।पुर्ण आवाशिय रुपमा संचालन गरेर हरेक व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्राकृतिक रुपले प्रस्फुटन हुने वातावरण सृजना गरिने छ।नेपालका सबै जातजाती, भाषाभाषि ,धर्मावलम्वीहरुले आ आफ्नै संस्कार र संस्कृतिको विकास हुने गरी शिक्षा आर्जनको वातावरण मिलाउने काम गरिने छ।

पढ्दै कमाउदै अभियानलाई टोल टोलमा पुर्याउने काम हुनेछ । चा.वि.न.पा.का प्रत्यक वडामा कम्तिमा १ वटा कृयाकलापलाई फिडर विद्यालय छनौट गरि पढ्दै कमाउदै अभियानमा  अगाडि बढाउने लक्ष्य रहेको छ।हप्ताको ५ दिन कलेजमा सिपमुलक शिक्षा लिने र एकदिन फिडर विद्यालयमा प्रयोगात्मक कार्यमा हरेक विद्यार्थी सरिक हुने परिपाटीको थालनि गरिने छ।

लेखेर मात्र उत्तिर्ण हुने परिपाटीलाई देखाएर उत्तिर्ण हुने बनाईने छ । विद्यार्थिलाई पास हुनको लागि मात्र नभएर खास हुनको लागि शिक्षा लिने अभियानको थालनी गरिने छ।

 


Thali Mobile Pvt.Ltd.