प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्न घुम्ती शिविर

प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्न घुम्ती शिविर

बाग्लुङ । धवलागिरि क्षेत्रका सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जिल्लामा तीनदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको संयोजनमा मङ्गलबारदेखि शुरु हुने शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गरिने भएको हो ।

सो अवसरमा विभागका सेवा र कार्यभारका बारेमा पत्रकारबीच अन्तरक्रिया गरिने भएको छ । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणका लागि धवलागिरि क्षेत्रमै पहिलोपटक शिविर सञ्चालन हुन लागेको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो ।पाँच वर्षअघि पोखरामा सञ्चालन भएको शिविरमा पुगेर यहाँका केही पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र लिएका थिए । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सञ्चार प्रतिष्ठान र पत्रकारले शिविरबाट लाभ लिन पाउनेछन् ।

पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र पाउनका लागि सञ्चार प्रतिष्ठानबाट पाएको नियुक्ती पत्र, सिफारिश, श्रमजीवी दरबन्दी विवरणलगायत आवश्यक कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने विभागले जनाएको छ । सरकारले गत मङ्सिरमा प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लास्थित हुलाक कार्यालयबाटै प्रेस पास लिन पाउने निर्णय गरेको थियो । सञ्चार प्रतिष्ठान र श्रमजीवी पत्रकारले स्थानीयस्तरमै सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले विभागले देशका विभिन्न ठाउँमा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ । “घुम्ती शिविर हाम्रा लागि अवसर हो, यसको सदुपयोग गरौँ”, शाखा अध्यक्ष शिरीषले भन्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.