भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बजार छैन नागबेली झारको

बजार छैन नागबेली झारको

पर्वत । कुनै समय वनमा खेर गइरहेको नागबेली झार बिक्री गरी मनग्य आम्दानी गरेका यहाँको विकट गाउँका बासिन्दा अहिले निराश छन् । सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने झार बिक्री हुन छाडेपछि स्थानीय निराश बनेका हुन् ।

जिल्लाको जलजला गाउँपालिका–९ बनौ, ५ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र वडा नं ४ क्याङमा यो झार प्रशस्त मात्रामा पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विभिन्न विदेशमा आयात गर्न थालेपछि उत्साहित बनेका उपभोक्ता पछिल्लो दुई वर्षयता विदेशी कम्पनीहरु सम्पर्कमा नआएपछि निराश बनेका छन् ।

उपयोगिता बुझ्दै गएपछि केही वर्ष सामुदायिक वनसँग आबद्ध उपभोक्ताहरुले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री वितरण गरे पनि आजकल बिक्री हुन छाडेको छ । अहिले लाखौँ मूल्यको यो झार वनमै कुहिएर जान थालेको मोदी गाउँपालिका–४ का अगुवा कृषक नरसिंह पुनले बताउनुभयो ।

स्थानीय स्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाल लगायतका नाममा परिचित यस झारलाई विगतका समयमा विवाह व्रतबन्ध लगायतका कार्यहरुमा गेट सजाउने कामबाहेक अन्य काममा उपयोग हुन पाएको थिएन । त्यही झारको कोसाबाट विभिन्न शृङ्गारका सामग्रीहरु बन्ने थाहा पाएपछि स्थानीयले चार वर्षसम्म राम्रो आम्दानी लिन सफल भएका थिए । स्थानीय कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार अहिले बिक्री हुन छाडेपछि सङ्कलन गर्न पनि छाडिएको छ ।

मोदी–४ क्याङका तीनवटा सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा सङ्कलनमा गर्ने गरेका थिए । यसरी सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर उक्त कोसालाई प्रशोधन गरी पाउडर बनाएर बिक्री गरिने पुनले बताउनुभयो ।

पुनका अनुसार पाँच वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट दुई सय किलो र छहेरे तथा कमेरा पाखा वन समूहबाट एक सय ५० किलो पाउडर उत्पादन गरी बिक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै बिक्री गरेको थियो । यसरी बिक्री गर्दा प्रतिकिलो सात सयदेखि आठ सय रुपैँयासम्म रकम आम्दानी हुने गरेको थियो ।

विभिन्न देशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट कण्डम, ग्लोभ्स तथा ब्युटीपार्लरका सामग्री उत्पादन हुने भएकाले माग बढ्दै गएको थियो । जलजला–९ बनौका वडाअध्यक्ष गौबहादुर पुनले नागबेली झारको बिक्री केही वर्षसम्म राम्रो भए पनि अहिले भने माग नआएको बताउनुभयो ।

डिभिजन वन कार्यालय पर्वतका अनुसार पर्वतमा रहेको नागबेली झारबाट १० टनभन्दा बढी पाउडर उत्पादन गर्न सकिन्छ । नागबेली झारको कोसा सङ्कलनका लागि सामुदायिक वन उपभोक्ता महासङ्घमार्फत डिभिजन वन कार्यालयबाट वन समूहले निकासीका लागि अनुमति लिनुपर्ने प्रावधान थियो ।

सोही अनुरुप नेपाल सरकारले तोकेको न्यूनतम मूल्यमा उक्त पाउडर निकासी गर्न अनुमति प्रदान गर्ने गरिएको भए पनि यसको माग आउन छाडेपछि सङ्कलन कार्यसमेत रोकिएको डिभिजनल वन अधिकृत विष्णु अधिकारीले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.