भक्तपुर, १० भदाै । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि भक्तपुरसहित तीन अस्पतालका आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको छ ।
भक्तपुर अस्पतालको तर्फबाट बाढीपीडितका लागि आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदी, जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आईटी इन्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोटरेल रहेका छन् ।
त्यसैगरी, टोखा चण्डेश्वरी अस्पतालको तर्फबाट पनि बाढीपीडितको उपचारका लागि आकस्मिक स्वास्थ्य टोली त्रिशूलीतर्फ प्रस्थान गरेको छ ।टोलीमा मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्का, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक संगिता छत्कुली, स्टोर किपर तथा औषधि एवं स्वास्थ्य सामग्री व्यवस्थापनतर्फ लीला बहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना र सवारी चालक उत्तर कुमार गुरुङ रहेका छन् ।
यसैगरी, बज्रबाराही अस्पतालबाट पनि बाढी प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य टोली परिचालन गरिएको छ ।बज्रबाराही अस्पतालको टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कासिन नेपाली, मेडिकल अधिकृत डा. आयुष जंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स संडिला महत रहेका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य टोली परिचालन गरिएको हो । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार आकस्मिक उपचार, प्राथमिक स्वास्थ्य सेवा तथा थप उपचार आवश्यक पर्ने बिरामीको व्यवस्थापनमा टोली परिचालित हुने जनाइएको छ ।
