एजेन्सी । इरानी रियाल अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । खुला बजारमा एक अमेरिकी डलरको मूल्य २० लाख इरानी रियालभन्दा माथि पुगेपछि इरानमा महँगी र आर्थिक संकट थप गहिरिएको छ ।
अमेरिकी प्रतिबन्ध, युद्ध तथा अन्तर्राष्ट्रिय व्यापारमा आएको अवरोधका कारण इरानको अर्थतन्त्रमा दबाब बढ्दै गएको छ । रियालको मूल्य निरन्तर घट्दा अत्यावश्यक वस्तुको मूल्यसमेत तीव्र रूपमा बढेको छ । युद्ध सुरु हुनुअघि २० लाख रियालमा करिब ४ किलो गोलभेँडा, आधा किलो कुखुराको मासु र एक लिटरभन्दा कम खाना पकाउने तेल किन्न सकिन्थ्यो । अहिले त्यही रकमले करिब आधा परिमाणको सामान मात्र किन्न सकिने अवस्था आएको छ ।
गोलभेँडाको औसत मूल्य ७१ प्रतिशत, कुखुराको मासु ७४ प्रतिशत र खाना पकाउने तेलको मूल्य १७७ प्रतिशतसम्म बढेको बताइएको छ । त्यस्तै, मधुमेहका बिरामीका लागि अत्यावश्यक इन्सुलिनको मूल्य ६४२ प्रतिशतसम्म बढेको छ । प्यारासिटामोलजस्ता औषधिको मूल्य ९३ प्रतिशत र शिशु दुधको मूल्य ९५ प्रतिशतले बढेको विवरणमा उल्लेख छ ।
बढ्दो मूल्यवृद्धिले इरानी परिवारको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको छ । तेहरानकी ३५ वर्षीया सेफानेहका अनुसार उनको परिवारको साप्ताहिक किराना खर्च २० देखि ३० प्रतिशतसम्म बढेको छ ।
उनका अनुसार अहिले परिवारका लागि भविष्यको योजना बनाउनुभन्दा महिनाको खर्च कसरी धान्ने भन्ने मुख्य चिन्ता बनेको छ । महँगी बढेसँगै नयाँ कपडा किन्ने तथा अन्य ठूला खर्चका योजना स्थगित गर्नुपरेको उनले बताएकी छन् । मूल्यवृद्धिसँगै उपभोक्ताको क्रयशक्ति घट्दा व्यवसायीसमेत प्रभावित भएका छन् । तेहरानमा कपडा बिक्री गर्ने ३५ वर्षीय जमिरका अनुसार गत वर्षको तुलनामा उनको व्यापार करिब ४० प्रतिशतले घटेको छ ।
उनका अनुसार कामदारको ज्याला, कच्चा पदार्थ तथा दैनिक सञ्चालन खर्च बढेको छ । अर्कोतर्फ ग्राहकको खरिद क्षमता घटेकाले व्यापार सञ्चालन गर्न कठिन भइरहेको छ । इरानी नागरिकहरूका अनुसार घरबाहिर निस्किएपछि सामान्य कफी, पानी, यातायातलगायतका खर्चमै ठूलो रकम सकिने अवस्था आएको छ ।
मूल्यवृद्धिका कारण खाद्यान्नमा समेत कटौती गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । केही परिवारले मासु र कुखुराको मासुजस्ता महँगा खाद्यवस्तुको प्रयोग घटाएका छन् । इरानको आर्थिक संकट युद्धका कारण मात्र उत्पन्न भएको नभए पनि पछिल्लो द्वन्द्वले समस्यालाई थप गम्भीर बनाएको बताइएको छ ।
युद्धका कारण उत्पादनमा अवरोध आएको छ भने अन्तर्राष्ट्रिय प्रतिबन्ध र व्यापारिक अवरोधले आयात–निर्यात प्रभावित भएको छ । रियाल कमजोर हुँदा आयातित वस्तु महँगो भएका छन् । आम्दानी भने मूल्यवृद्धिको गतिमा बढ्न नसक्दा इरानी परिवारको क्रयशक्ति कमजोर हुँदै गएको छ । लाखौँ इरानीका लागि अहिले मुख्य प्रश्न सामानको मूल्य कति बढ्यो भन्ने मात्र नभई एक महिनाको आम्दानीले एक महिनाको आधारभूत आवश्यकता कति धान्न सक्छ भन्ने बनेको छ ।
