काठमाडौँ,१० भदाै । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको मृत्यु भएको छ। नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको छ। त्यस्तै, धादिङमा पाँच महिला, दुई पुरुष र दुई जनाको लिङ्ग नखुलेको गरी नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। चितवनमा एक महिलाको मृत्यु भएको विवरणमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यसमेत तीव्र पारिएको छ। हालसम्म ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।उद्धार गरिएकामध्ये रसुवाबाट ४३ जना, नुवाकोटबाट १९ जना र धादिङबाट तीन जना रहेका छन्।
उद्धार गरिएका घाइतेमध्ये छ जनालाई काठमाडौं ल्याइएको छ भने ३६ जना धुन्चेमा रहेको विवरणमा उल्लेख छ। एक प्रहरीसहित अन्य घाइतेलाई नुवाकोटबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण सीमावर्ती क्षेत्र तथा आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा परेकाको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
