काठमाडौं । आव २०८०\८१ को बजेट निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै अर्थमन्त्रालायले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । बजेट निर्माण प्रक्रियालाई गति दिन अर्थ मन्त्रालयले समय तालिकासहितको योजना बनाएको हो ।
आगामी वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गरिनेछ। चैत २१ गतेदेखि राजस्व परामर्श समितिले दिएका सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन तयार हुनेछ। त्यस्तै विषयगत मन्त्रालयलाई एलएमबीआईएसमा बजेट प्रस्ताव गर्न चैत २४ गतेसम्मको समय उपलब्ध गराइएको छ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमा तय गरेको छ। चालु आर्थिक वर्षमा राजस्व संकलनमा आएको संकुचन, वैदेशिक सहायता परिचालनमा घट्दो अनुदान प्रवृत्तिजस्ता कारणले आगामी बजेटको सीमा घटाइएको आयोगले जनाएको छ।
चैत २६ गतेदेखि वैशाख २० गतेसम्म मन्त्रालयसँग बजेट, कार्यक्रम र खर्च शीर्षकमा छलफल कार्यक्रम राखिएको छ। चैत २६ गतेदेखि नै वैशाख २५ गतेसम्म सरोकारवालासँग बजेट सुझाव संकलन गर्ने समय तोकिएको छ।
वैशाख २० गते सार्वजनिक संस्थानको प्रगति विवरण अर्थात् पहेँलो किताब प्रकाशनमा लागि पे्रसमा पठाउने योजना छ। वैशाख २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने वैशाख २५ गते दुवै सदनमा पेश गर्ने मन्त्रालयको कार्यतालिका छ।
