बराह तालको जैविक विविधता नमासौं

बराह तालको जैविक विविधता नमासौं

म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोट गाउँको सिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यता पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् ।

पछिल्लो समय रैथाने चरा देखिन छोडेका र ताल सफा गर्ने चरा पनि कम हुँदै गएका स्थानीयको भनाइ छ । निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा ताल हेर्न पाइन्छ । झण्डै दुई रोपनीमा फैलिएको तालको जैविक विविधता संरक्षणमा स्थानीय तहको ध्यान जान आवश्यक रहेको ताल अवलोकनमा आएका पोखराका धनमणि अर्मजाले बताए ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा अवस्थित ताल र आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् । तालमा वन जङ्गल र

हिमाल देखिने प्रतिविम्ब छायाँसमेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए । पातपतिङ्गर परेमा चराले सफा गर्ने गरेको मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.