भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे हुने भएको छ ।
बुधवार पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई खेलकुद प्रतियोगितामार्फत सक्रिय बनाउने उद्देश्यअनुरुप नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको जानकारी दिए ।
भक्तपुरको पुरानो क्षेत्रलाई सांस्कृतिक क्षेत्र घोषणा गरी मौलिक शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई आर्थिक अनुदान प्रदान गर्दै आइरहेको बताए । भक्तपुरलाई जीवन्त नगर बनाउन नगरपालिका हरसम्भव क्रियाशील रहेको बताए ।
नगरपालिकाको आयोजनामा हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सञ्चारमाध्यमहरुबाट सकारात्मक प्रचारप्रसार हुने विश्वास व्यक्त गर्दै उनले नगरमा शिक्षा, स्वास्थ्य, सरसफाईबारे भइरहेको सकारात्मक प्रचारलाई देशव्यापी मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि प्रचार प्रसार भइरहेको बताए ।
प्रतियोगितामा बढीभन्दा बढी सहभागिता गराउन व्यापक प्रचारप्रसारलाई जोड दिँदै आएको जानकारी दिए । प्रमुख प्रजापतिले भक्तपुरमा आन्तरिक पर्यटक बढाउने प्रयास पनि जारी रहेको बताए ।
अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्दै भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताए ।
साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन गरे भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमबाट प्रतिनिधित्व गरेका पत्रकारहरुले प्रतियोगिताबारे विविध विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।
