१२ असार २०७७ अछाम । अछामको तुर्माखाद गाउँपालिका स्थित भैरवस्थान नजिकैको मकैबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । १८ वर्षीया मनिषा उखेडालाई शुक्रबार मकैबारीबाट उद्धार गरिएको हो ।
मनिषालाई सुत्केरी हुन समस्या भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर उनलाई उद्धार गर्न आएको हो । हेलिकप्टर बस्ने ठाउँ नभएपछि मकैबारीमा हेलिकप्टर अवतरण गरी उद्धार गरिएको हो ।
अहिले उनलाई सुर्खेत लगिएको र अस्पतालमा अप्रेशन सफल भएर आमा र बच्चाको अवस्था सामान्य रहेको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च व्यहोर्ने गरी एकजना गर्भवती महिलाको अछाम तुर्माखाँदबाट उपचारको लागि पठाइएको प्रमुख जिल्ला अधिकारीले बताए ।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको कार्यविधि अनुसार अहिलेसम्म अछामका ४ जना महिलाको उद्वार गरिएको राष्ट्रपति महिला उत्थान समन्वय इकाई प्रमुखले बताए ।
देशभर लकडाउनको अवधिमा १९ जना सुत्केरी र गर्भवती महिलाको उद्वार भएको छ । जसमा तीन जना अछामको रामारोशन र तुर्माखाँद गाउँपालिकाका रहेका छन् ।