भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

दाङ । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गर्नुभएका यात्रु रुद्रबहादुर रेउलेले भन्नुभयो, “दुर्घटनाको जोखिम उत्तिकै छ ।”

सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । “धुलोले शरीर थपक्कै ढाकेको हुन्छ”, मोटरसाइकल चालक लक्ष्मण केसीले भन्नुभयो, “खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन, आधा घण्टा लाग्ने ठाउँमा एक डेढ घण्टा लाग्छ ।”

बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । “धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्”, उहाँले भन्नुभयो, “स–साना ठेक्काको काम सकेपछि अर्को वर्षदेखि ठूलो ठेक्का लाग्छ ।”

ठाउँ–ठाउँमा ठेक्का गरिएको भए पनि ठेकेदारले काम गरेको अवस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ ।

राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्र गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्र भए पनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उहाँको भनाइ छ । तुलसीपुरबाट रुकुमपश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ । तीन वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ ।

चालु वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करिब रु ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्सेनि करोडौँ बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.