काठमाडौं । नेपालको नयाँ राष्ट्रपतिका लागि यही फागुन २५ गते चुनाव हुदैछ । पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुदैछ ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थन पाएर उम्मेदवारी दिएका छन् भने एमाले उपाध्यक्ष नेम्वाङ एमाले एक्लैको समर्थकमा उम्मेदवारी दिएका छन् ।
आआफ्नो पक्षमा समर्थन जुटाउन लविङ्ग सुरु गरिसकेको छन् ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रस्तावक तथा समर्थकसहित पौडेल दरिलो बनेका छन् भने एमालेको मात्रै समर्थनमा उम्मेदवारी मनोनयन दर्ता गराएका नेमाङ्ग जितको दावी गरिरहेका छन् ।
रोचक त के भने पौडेलको मनोनयनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित आठै दलका शीर्ष नेता उपस्थित भएर हौसिएका थिए । पौडेलभन्दा अघि उम्मेदवारी दर्ता गराएका नेम्वाङको प्रस्तावक र समर्थकमा भने एमालेका केही मात्र नेता सहभागि भएका थिए ।
पौडेल ०५१ को मध्यावधि निर्वाचनपछि सभामुख भएका थिए । कांग्रेसको कार्यवाहक सभापति, उपप्रधानसहित पटकपटक मन्त्री भइसकेका ७९ वर्षीय पौडेल समकालीन नेताहरूमा सादगी र सरल व्यक्तित्वका धनी भनेर परिचित छन् ।
नेम्वाङले दुईवटै संविधानसभामा अध्यक्ष (सभामुख) को भूमिका निर्वाह गरेका थिए । उनी पुनःस्थापित प्रतिनिधिसभा २०६३ र रूपान्तरित व्यवस्थापिका २०७२ मा पनि सभामुख थिए । उनी २०५१ सालमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भएका थिए ।
संविधानसभा अध्यक्ष हुँदा निर्वाह गरेको समन्वयकारी भूमिकालाई लिएर उनको प्रशंसा गर्ने धेरै छन् । राष्ट्रपति निर्वाचित हुन कुल मतभार ५२ हजार ६ सय २८ मध्ये बहुमत २६ हजार ३ सय १५ मतभार ल्याउनुपर्छ ।
पौडेलको पक्षमा खुलेका आठ दलको ३१ हजार ९ सय १७ मतभार छ । एमालेको मतभार १५ हजार ३ सय १२ छ । कुनै नाटकीय मोड नलिए पौडलको विजयी सुनिश्चित देखिएको छ ।
