काठमाडौं । हालै नेपालको दुईदिने भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारतले चाहेको व्यक्ति राष्ट्रपति बन्नु पर्ने सन्देश लिएर नेपाल आएको खुलेको छ ।
राजनीतिक उद्देश्य प्रेरित उक्त भ्रमणमा खासगरी वर्तमान सत्तारुढ गठबन्धनको भविष्य र आउँदो फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनप्रति उनको निकै चासो रहेको स्रोतको दावी छ ।
सचिवस्तरीय बैठकको बहानामा नेपाल आएका क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता शेरबहादुर देउवालाई भेटेका थिए ।
सचिवस्तरको व्यक्तिलाई प्रधानमन्त्रीले समेत अस्वाभाविक खातिरदारी गरेको भनेर लक काट्न थालिएको छ । राष्ट्रपति निर्वाचनका सम्बन्धमा ‘व्यक्ति किटाएर घनीभूत’ छलफल गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले राति दुई घन्टासम्म बालुवाटारमा गोप्य भेटवार्ता गरेको बुझिएको छ । भारतीय संस्थापनको सन्देश प्रचण्ड र देउवालाई सुनाउन नेपाल आएको स्रोतको दावी छ ।
भारतका विश्वासपात्र लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरको नामै किटेर राष्ट्रपति बनाउनु पर्ने बताएको स्रोतले बताए ।
