भर्खरै : Sorry, your browser does not support inline SVG.

राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका अपराधिले चितवनमा गरे फेरी अर्को अपराध

राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका अपराधिले चितवनमा गरे फेरी अर्को अपराध

चितवन । गणतन्त्र दिवसमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएको ५ महिना नबित्दै एक व्यक्तिले अर्को अपराध गरेको भन्दै पुनः पक्राउ परेका छन् । माग गरेबमोजिम रकम नदिए पछि अपहरण र गोली प्रहार गर्ने धम्की दिएपछि प्रहरीले ५५ वर्षीय रामचन्द्र थापालाई पक्राउ गरेको हो । थापा गत जेठ १५ गते गणतन्त्र दिवसमा ५० प्रतिशत कैद छुट पाएर मुक्त भएका थिए ।

असल चालचलन भएको भन्दै सरकारको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । हेटौंडा उपमहानगरपालिका–२ स्थायी ठेगाना भई भरतपुर महानगरपालिका–९ मा बस्दै आएका थापा यसअघि पनि विभन्न अपराधमा पटक–पटक समातिएका व्यक्ति हुन् । पछिल्लो समय डाँका मुद्दामा पक्राउ परेर ९ वर्ष कैद सजाय पाएका उनी आममाफीमा छुटेका थिए ।

थापाले भरतपुर महानगरपालिका–१ पुल्चोकमा औषधि पसल चलाउँदै आएका सोमराज सुवेदीलाई धम्काउँदै रकम माग गरेको चितवन प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार पत्रकार सम्मेलन गरी भरतपुर–१० मालपोत चोकनजिकबाट रकम माग्दै गर्दा थापालाई पक्राउ परेको जानकारी दिएको छ । थापाले सुवेदीसँग सुरुमा २५ लाख रुपैयाँ माग गरेको डीएसपी पण्डितले बताए ।

कात्तिक ८ गते साँझपख करिब पौने ६ बजे फोनमा हिन्दीमा बोल्दै आफूसँग २५ लाख रुपैयाँ माग गरेको सोमराज सुवेदीले बताए । पैसा बुझाउन मंगलबारलाई दिन तोकेपछि थापा पैसा बुझ्न आएका थिए । पैसा बुझ्न आएका थापा पाँचौंपटक प्रहरी नियन्त्रणमा आएको डीएसपी पण्डितले बताए । थापाविरुद्ध पहिलोपटक २०६६ सालको जेठ २७ मा चितवन प्रहरीले चोरी मुद्दा दर्ता गरेको थियो ।

६६ सालकै असार ३ मा अवैध हातहतियार देखाएर डाँका गरेको अभियोग, २०७३ सालको वैशाख २२ मा ललितपुर सातदोबाटो प्रहरी वृत्तले लागुऔषध अपराधमा मुद्दा दर्ता गरेको प्रहरी विवरण छ । २०७५ सालको मंसिर १३ मा चितवन प्रहरीले डाँकासम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । चितवन जिल्ला अदालतले ९ वर्ष कैद सुनाएकोेमा २०८० को गणतन्त्र दिवसमा सरकारले आधा कैद मिनाह गरेपछि थापा छुटेका थिए ।

 


Thali Mobile Pvt.Ltd.