काठमाडौं । संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । जोशीको आइतबार बिहान निधन भएको हो । बिरामी परेका उनलाई ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको हो । शरीर दान गरेकाले जोशीको शव अस्पतालमै राखिने भएको छ । चिकित्सा शिक्षामा अनुसन्धानका लागि राख्न लागिएको हो । खमूलघाटमा जन्मकुण्डली दहन गरी अन्तिम संस्कारको विधि गरिएको छ ।
नेपाली भाषा, कला, साहित्य, संस्कृति, इतिहास, रंगमञ्च क्षेत्रमा जीवनभरि सक्रिय जीवन बिताएका जोशीको निधनलाई एक युगको अन्त्य भएको नेपालीहरुको बुझाइ छ ।
नेपाली लोक संस्कृति, लोकवार्ता र भाषा साहित्य क्षेत्रमा उनको योगदान नै एक युगको दर्शन र इतिहास बनेको उनको मत छ । ‘उहाँले नेपाली लोक संस्कृति, भाषा साहित्य तथा नाट्य क्षेत्रलाई बाहिर ल्याउन बाटो पहिल्याएर आफैं पनि त्यसको संरक्षण र विकासका लागि जीवनभर सक्रिय थिए जोशी ।
ललितपुर बखुम्बहालमा बाबु शंकरराज जोशी र आमा राजकुमारी (नुगलदेवी) का जेठो छोराका रूपमा विसं १९७७ वैशाख ३० मा जन्मेका जोशीले नेपाली र नेपाल भाषा दुवैलाई लिएर खोज, अनुसन्धान, अध्ययन र लेखनमा आफूलाई समर्पित गरेका थिए ।
नेपाली साहित्य क्षेत्रमा जोशीले मदन पुरस्कार पाउनेमा कीर्तिमान बनाएका थिए । विसं २०१२ मा मदन पुरस्कार गुठी स्थापना भएपछि पहिलो पटक २०१३ सालमा नै जोशीले पुरस्कार पाएका थिए । गाउँ–गाउँ गएर विरही गीत संकलन गरी जोशीले ‘लोक संस्कृति’ नामक पुस्तक लेखे ।
त्यसैलाई पहिलो पटक मदन पुरस्कार प्रदान गरिएको थियो । लिच्छविकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज गरेर उनले अर्को पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ लेखेर दोस्रो पटक २०१७ सालमा मदन पुरस्कार पाए । पुस्तकमा उनले इसापूर्व ६५२ मा मुद्राको आरम्भ भएको भन्ने तथ्यलाई नेपाली जनमानससमक्ष प्रस्तुत गरे ।
यसमा उनले तिब्बतका लागि नेपालले मुद्रा बनाउने जिम्मेवारी लिएर मनग्य आम्दानी गरेको ऐतिहासिक कुरासमेत पत्ता लगाएर उल्लेख गरेका छन् ।२०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उनले तेस्रो पटक मदन पुरस्कार पाए ।
२०२७ सालमा प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भएको समयमा जोशीको नेतृत्वमा बिहारीकृष्ण श्रेष्ठ, थीरजंगबहादुर सिंह, प्रदीप रिमाल, चूडामणि बन्धुको समूहले नेपाली भाषाको उत्पत्ति थलो कर्णालीको सिञ्जा प्रदेश गएर दुई महिनाको अथक प्रयासपछि नेपाली भाषाको प्रारम्भिक इतिहास बाहिर ल्याएका थिए । २००१ सालबाट नै जोशीको जागिरे जीवन सुरु भएको थियो ।
उनले २००१ सालमा ‘औद्योगिक व्यापारिक समाचार संग्रह कड्डा’ अधिकृतस्तरको खरदारको जागिर पाएका थिए । त्यसपछि उनी संख्य विभागमा सुपरिवेक्षक हुँदै राष्ट्रिय योजना परिषद्को अधिकृत, अमेरिकन सांस्कृतिक केन्द्र, महेन्द्र राजमार्ग प्रचारप्रसार प्रमुख र तत्कालीन मन्त्री परशुरामभक्त माथेमा निजी सचिवसमेत भएका थिए ।
प्रज्ञा प्रतिष्ठानमा २०२६ सालमा सहसदस्य हुँदै प्रथम जनकुलपति केदारमान व्यथितको कार्यकालमा उनी २०३१ सालदेखि २०३५ सालसम्म सदस्यसचिव भए । जोशी २०१६ सालमा पुरातत्त्व विभागको पहिलो निर्देशक भए । त्यस क्रममा उनले उपत्यकाको मूर्त तथा अमूर्त कला तथा सांस्कृतिक सम्पदा संरक्षणमा विशेष योगदान पुर्याए ।
२०७१ मा न्ह्युजः गुठीले जोशीको मुहार अंकित २० ग्रामको चाँदीको सिक्का प्रकाशन, २०७६ सालमा नेपाल सरकार निर्देशनमा नेपाल राष्ट्र बैंकले जोशीको नाम र मुहार अंकित एक सय रुपैयाँको धातुको सिक्का, एक हजार रुपैयाँ र २५ सय रुपैयाँका चाँदीको सिक्का प्रकाशनमा ल्याएको छ ।
उनले योगदानको कदरस्वरूप थुप्रै सम्मान र पुरस्कार पाएका थिए । सरकारले उनको तस्बिर अंकित हुलाक टिकटसमेत प्रकाशित गरेको छ । उनको मृत्युले नेपाली साहित्यमा ठूलो क्षेती पुगेको छ ।
