कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ ।
पक्राउ पर्नेमा ४० भारतीय र २ नेपाली ।
२८ ल्यापटप र ७८ मोबाइल बरामद ।
घटनाबारे प्रहरीको अनुसन्धान जारी ।
भदौमा बाँकेमा १५२ वटा मुद्दा दर्ता ।
बाँके, ७ असाेज । बाँकेको कोहलपुरस्थित एक होटलमा अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ४० भारतीयसहित ४२ जनालाई पक्राउ गरेको छ । होटल म्याक्सबाट पक्राउ परेकामध्ये दुई जना नेपाली नागरिक रहेका छन् । उनीहरूको साथबाट २८ थान ल्यापटप र ७८ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले कहिलेदेखि, कसरी र कति रकमको सट्टेबाजी गराउँदै आएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ । पक्राउ परेका सबैलाई नेपालगन्जस्थित प्रहरी हिरासतमा राखिएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौमा विभिन्न प्रकृतिका १५२ वटा मुद्दा दर्ता गरेको जनाएको छ । तीमध्ये ७ जघन्य, ५१ गम्भीर र ९४ सामान्य प्रकृतिका अपराधसम्बन्धी मुद्दा छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ घटनामा १५ जना पक्राउ परेका छन् भने आर्थिक अपराधसम्बन्धी २६ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले चालु मुद्दाका १३७ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
