इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध

इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध

एजेन्सी, ७ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा इरानमाथि कडा चेतावनी दिएका छन् । उनले इरानले आणविक कार्यक्रम र आतंकवादलाई समर्थन गर्ने नीति नत्यागे त्यसलाई आर्थिक रूपमा एक्ल्याउनेदेखि ‘इस्लामिक गणतन्त्र ध्वस्त पार्ने’ विकल्पसम्म रहेको बताएका छन् ।

ट्रम्पले अमेरिकाले इरानलाई आणविक हतियार बनाउन नदिने दाबी गर्दै अन्तर्राष्ट्रिय समुदायलाई पनि इरानमाथि दबाब बढाउन आग्रह गरे । उनले इरानसँग सम्झौता गरेर पुनर्निर्माणको अवसर दिने वा कडा कदम चाल्ने विकल्प रहेको बताएका थिए ।

ट्रम्पको सम्बोधनका क्रममा इरानी प्रतिनिधिमण्डलका सदस्यहरू महासभा हलबाट बाहिरिएका थिए । इरानी विदेशमन्त्री अब्बास अरागचीले अन्तर्राष्ट्रिय संस्थाप्रति गुमेको विश्वास पुनःस्थापित गर्नुपर्ने बताएका छन् ।

ट्रम्पको अभिव्यक्तिको अमेरिकाभित्र पनि आलोचना भएको छ । डेमोक्रेटिक सिनेटर एन्डी किमले आफूलाई शान्तिको राष्ट्रपति बताउने ट्रम्पले अर्कोतर्फ एउटा राष्ट्रलाई पूर्ण रूपमा विनाश गर्ने अभिव्यक्ति दिएको भन्दै आलोचना गरेका छन् ।

त्यस्तै, ट्रम्पले क्युबाको सरकारलाई पनि ‘असफल राज्य’ भन्दै कडा टिप्पणी गरेपछि क्युबाली प्रतिनिधिमण्डलले समेत सभाहल छाडेको थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने विश्व ‘जङ्गलको नियम’तर्फ फर्कन नहुने भन्दै अन्तर्राष्ट्रिय समस्याको समाधानका लागि संयुक्त राष्ट्रसंघलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.