भक्तपुर, ८ असोज । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा संस्कृतिकर्मीहरूको भेला सम्पन्न भएको छ। भेलामा वक्ताहरूले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणका लागि युवाहरूलाई सांस्कृतिक गतिविधिमा सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले युवाहरू सांस्कृतिक क्षेत्रमा सक्रिय भई आफ्नो संस्कृति र पहिचान संरक्षणका लागि निरन्तर लाग्न आवश्यक रहेको बताउनुभयो।
उहाँले समाजवादी व्यवस्थामा मात्र बहुसंख्यक जनताको हित हुने धारणा राख्दै जनतालाई सचेत र संगठित गर्न निरन्तर संघर्ष गर्नुपर्ने बताउनुभयो। समाजमा काम गरी खाने वर्गको हित र अधिकार स्थापित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो।
साविक वडा नं. १० का पूर्ववडाध्यक्ष आशकुमार कोजुले गाईजात्रामा प्रस्तुत गरिने गीत, नाटक तथा ख्यालमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे सन्देश तथा चेतना प्रवाह हुने बताउनुभयो। यस्ता सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
आफ्नो भाषा र संस्कृति संरक्षणका लागि जहाँ जुन देशमा पुगे पनि त्यसलाई निरन्तर आत्मसात् गर्नुपर्ने बताउँदै कोजुले नयाँ पुस्तालाई समेत आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेशप्रसाद सुवाल, सरोज दथेपुथे र श्यामसुन्दर माताङले वडा नं. २ ले गर्दै आएका विकास निर्माणका कार्यबारे जानकारी दिनुभयो। कार्यक्रममा वडा सदस्य मञ्जु लाखाजुले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।
