काठमाडौं, ७ असाेज । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने हिंसा रोक्न सरकारले कडा सजायको व्यवस्था सहित नयाँ विधेयक संसद्मा पेस गरेको छ ।स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधन गर्न बनेको विधेयकमा गम्भीर कसुर गर्नेलाई २ देखि ५ वर्षसम्म कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।
यसअघि कैद वा जरिवानामध्ये एउटा सजाय हुन सक्ने व्यवस्था रहेकामा अब दुवै सजाय हुने प्रस्ताव छ ।विधेयकले स्वास्थ्यकर्मीमाथि हातपात, हिंसा, हतियारसहित बल प्रयोग तथा हिंसाका लागि उक्साउने कार्यलाई समेत कसुरका रूपमा समेटेको छ । अन्य प्रकृतिका कसुरमा १ देखि ३ वर्षसम्म कैद र १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।
नयाँ व्यवस्थाले चिकित्सक र कर्मचारीसँगै प्रशिक्षार्थी विद्यार्थीलाई पनि कानुनी सुरक्षाको दायरामा ल्याउने प्रस्ताव गरेको छ । स्वास्थ्यकर्मीको भौतिक र आर्थिक सुरक्षासँगै मानसिक तथा मनोसामाजिक सुरक्षालाई समेत समेटिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ को पहिलो प्राथमिकतामा राखेर विधेयक संसद्मा पेस गरेको जनाएको छ ।
