असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम बढ्ने ।
अत्यावश्यक कामबाहेक राति र लामो दूरीको यात्रा नगर्न आग्रह ।
यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझ्नुपर्ने ।
जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडर तयारी अवस्थामा राख्न आग्रह ।
बाढीका लागि ११५५, विपद्का लागि ११४९, प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने ।
काठमाडौं, ७ असाेज । देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेसँगै बाढी तथा पहिरोको जोखिम बढ्ने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
महासङ्घले असोज ८ गतेदेखि १२ गतेसम्म विपद्को जोखिम उच्च रहने जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन अपिल गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वसूचनालाई आधार बनाएर महासङ्घले सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालन गर्नुअघि बाटो र मौसमको अवस्था अनिवार्य रूपमा बुझ्न निर्देशन दिइएको छ । कुनै पनि रुटमा सवारी सञ्चालन गर्नुअघि स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न महासङ्घले आफ्ना सदस्य सङ्घ, समिति, कम्पनी तथा बुकिङ कर्मचारीलाई आग्रह गरेको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा सम्भावित अवरोध हटाउन डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्नसमेत भनिएको छ ।
पूर्वसूचनाका आधारमा जोखिमयुक्त स्थानमा रहेका व्यक्ति तथा परिवारलाई समयमै सुरक्षित स्थानमा सार्न र आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्तीका साथै पहिरो जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्क रहन महासङ्घले आग्रह गरेको छ । सम्बन्धित सङ्घीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायलाई समेत सर्वसाधारणलाई आवश्यक सूचना उपलब्ध गराउँदै सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
महासङ्घले बाढी तथा विपद्सम्बन्धी जानकारी र सहयोगका लागि हटलाइन नम्बरसमेत सार्वजनिक गरेको छ । वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
सम्भावित जोखिमबाट जोगिन मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान तथा चेतावनीसम्बन्धी सूचना नियमित रूपमा हेर्नसमेत महासङ्घले आग्रह गरेको छ ।
