काठमाडौँ । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ ।
यसअघि ११ जेठमा गाडी भाडादर समायोजन गरेको प्रदेश सरकारले बिहीबारदेखि पुनः भाडा घटाएको हो ।
नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको थियो ।
त्यसै अनुरुप बागमती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ ।
यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।
