भक्तपुर महोत्सवमेलामा डेढ लाख दर्शकले गरे अवलाेकन, स्थानीय उत्पादन र संस्कृतिको प्रदर्शन

भक्तपुर महोत्सवमेलामा डेढ लाख दर्शकले गरे अवलाेकन, स्थानीय उत्पादन र संस्कृतिको प्रदर्शन

भक्तपुर,  ३ बैशाख । नयाँ वर्ष,  नयाँ सोच,  युवाहरुको लागि प्रगतिको स्रोत भन्ने मूल नाराका साथ भक्तपुरमा आयोजित नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेकाे छ। महोत्सवको सातौं दिनसम्म करिब १ लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरिसकेका छन्।

भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा चैत २८ गतेदेखि सुरु भएको यो महोत्सव बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, जुत्ता, हस्तकला, कृषि औजार, मोबाइल, इलेक्ट्रोनिक्स सामग्री र अटोमोबाइल प्रदर्शनी तथा बिक्रीका लागि स्टलहरू राखिएको जानकारी दिनुभयो।

महोत्सव संयोजक दीपक थापाले स्थानिय हस्तकला र कृषि उत्पादनलाई प्राथमिकता दिइएको बताउनुभयो। बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ, रोटेपिङ, रेनजर र मारुती सर्कसजस्ता आकर्षणहरू पनि मेलामा छन्। पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सव, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, हास्य व्यंग्य, फेसन याप र नृत्य प्रतियोगिता पनि मेलाका मुख्य आकर्षण हुन्।

संस्थाका कोषाध्यक्ष प्रीतम मल्लका अनुसार, महोत्सवमा १५० स्टल छन् र सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा प्रवेश शुल्क रु. ५० र रु. ८० तोकिएको छ। विद्यार्थीलाई ५० प्रतिशत र जेष्ठ नागरिकलाई शतप्रतिशत छुटको व्यवस्था गरिएको छ। बैशाख १३ गते भक्तपुर सांगीतिक साँझ-२०८२ को आयोजना हुने र चर्चित गायक-गायिकाहरूको प्रस्तुति रहने जानकारी पनि दिइएको छ।

 

 


Thali Mobile Pvt.Ltd.