भक्तपुर नगरपालिकाको टिम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

भक्तपुर नगरपालिकाको टिम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

भक्तपुर । यसपटक १३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, २० रजत र ३७ कास्य सहीत ९४ पदक जित्दै १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिकाको टिम प्रथम हुन सफल भएको हो ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २४ गतेदेखि फागुन २६ गतेसम्म भएको उक्त प्रतियोतिामा मध्यपुर नगरपालिकाले १५ स्वर्ण, १९ रजत र ४० कास्य सहीत ७८ मेडलका साथ उक्त प्रतियोगितामा टिम द्धितीय हुन सफल भए । त्यसैगरी चाँगुनारायण नगरपालिका १२ स्वर्ण, २५ रजत र १८ कास्यका साथ भक्तपुर जिल्ला व्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तृतीय भए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते, भलिवल, कवड्डी, उसु, तेक्वान्डो र एथलेटिक्स गरी ६ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । भक्तपुर नगरपालिकाले उसु खेलमा ५ स्वर्ण, ६ कास्य र १० कास्य जितेको हो ।

त्यसैगरी भलिबल खेलको महिला र पुरुष दुवैमा स्वर्ण पदक भक्तपुर नगरपालिकाले जितेको थियो । एथ्लेटिक्स खेलमा भने भक्तपुर नगरपालिकाले १३ स्वर्ण, ६ रजत र ८ कास्य जित्न सफल भएको थियो । त्यसैगरी तेक्वान्डो खेलमा १० स्वर्ण, ४ रजत र ११ कास्य भक्तपुर नगरपालिका पाएको थियो ।

कबड्डी खेलको महिला र पुरुष दुवै खेलको स्वर्ण पनि भक्तपुर नगरपालिकाले जित्न सफल भएको थियो । प्रतियोगिताको अन्तिम दिन चाँगुनारायण नगरपालिकाको तपा डम्फोमा भएको कराँते खेलमा ५ स्वर्ण, २ रजत र ६ कास्य भक्तपुर नगरपालिकाले जितेको थियो । सोही क्रममा प्रतियोगितामा विजय खेलाडीहरुलाई मेडल प्रमाणपत्र वितरण तथा नगरपालिकालाई शिल्ड वितरण कार्यक्रम सम्पन्न भयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले भक्तपुर नगरपालिकाको तर्फबाट शिल्ड ग्रहण गर्नुभएको थियो ।

सदस्य रामसुन्दर वासीका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ११ औँ, १२ औँ र यो वर्षको १३ औँ गरी भक्तपुर नगरपालिकाले लगातार तीन पटक भक्तपुर नगरपालिकाको टिम प्रथम हुन सफल भएको हो । रनिङ शिल्डको नियम अनुसार भक्तपुर नगरपालिकाले अब राष्ट्रपति रनिङ शिल्ड फिर्ता गर्नुपर्ने छैन् भने आयोजक टीमले अर्को वर्षको लागि नयाँ रनिङ शिल्डको व्यवस्था गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.