भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

भक्तपुरमा आजदेखि विद्यालय केन्द्रित एचपीभी खोप अभियान सुरु

भक्तपुरमा आजदेखि विद्यालय केन्द्रित एचपीभी खोप अभियान सुरु

भक्तपुर, २६ माघ । भक्तपुर जिल्लाका चार वटै नगरपालिकामा आजदेखि लक्षित समूहका किशोरीलाई विद्यालयमै पुगेर एचपीभी खोप दिइने भएको छ । जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार पत्रकारहरूसँग अन्तरक्रिया गरी जिल्लाका चार नगरपालिकामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी तथा विभिन्न उमेर समूहका लक्षित किशोरी–किशोरको तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयका अनुसार जिल्लाभर कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या ३ हजार ८४९ पुगेको छ ।

यी सबै किशोरीलाई विद्यालयमै स्वास्थ्यकर्मी पुगेर खोप दिइने स्वास्थ्य कार्यालय प्रमुख अन्जना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विगत वर्षदेखि सुरु भएको एचपीभी खोप अभियान यो वर्ष दोस्रो चरणमा पुगेको हो । आगामी वर्षदेखि छुटेकालाई खोप नदिइने भएकाले सबै किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ । तथ्यांकअनुसार भक्तपुर नगरपालिकामा कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी १ हजार ५१५ रहेको छ । यद्यपि यहाँ १० वर्ष उमेर समूह, कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या शून्य देखिएको छ ।

यस्तै चाँगुनारायण नगरपालिकामा कक्षा ६ का विद्यार्थी ५२९ जना रहेका छन् भने १० वर्ष उमेर समूहका किशोरी–किशोर ६६ जना रहेका छन् । यहाँ पनि कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या शून्य रहेको छ । जिल्लाभर समग्र रूपमा हेर्दा १० वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या १६३ पुगेको छ । कक्षा ७–१० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोर २० जना रहेको तथ्यांकले देखाएको छ ।

यो वर्ष माघ २६ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान सञ्चालन गरिने जनाइएको छ । यस अवधिमा छुटेका किशोरीलाई फागुन ४ र ५ गते स्वास्थ्य संस्था (चौकी) मार्फत खोप दिइने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.