बिस्का जात्रा व्यवस्थापनमा उच्च तयारी, सरोकारवालासँग समन्वय बैठक सम्पन्न

बिस्का जात्रा व्यवस्थापनमा उच्च तयारी, सरोकारवालासँग समन्वय बैठक सम्पन्न

मुख्य बुँदा 

भक्तपुरमा बिस्का जात्रा व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय बैठक सम्पन्न

जात्रा चैत २७ देखि वैशाख ५ गतेसम्म ८ रात ९ दिन सञ्चालन हुने

शान्ति सुरक्षाका लागि सुरक्षा निकायलाई जिम्मेवारी

सिसी क्यामेरा अपग्रेड र ड्रोनमार्फत निगरानी गर्ने तयारी

एम्बुलेन्स, दमकल र स्वास्थ्य सेवा तयारी अवस्थामा राखिने

भीड व्यवस्थापनका लागि स्वयम्सेवक परिचालन गरिने

खानेपानी, विद्युत र यातायात व्यवस्थापनका लागि सम्बन्धित निकायलाई जिम्मेवारी

जात्रा सुरु हुनु अघि शुभकामना र्‍याली आयोजना गरिने

भक्तपुर, ११ चैत । नजिकिँदै गरेको भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पर्व बिस्का जात्रालाई सभ्य, भव्य र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सरोकारवालाहरूसँगको समन्वय बैठक सम्पन्न भएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार नगरपालिकाको सभाकक्षमा बसेको बैठकले २०८२ चैत २७ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म सञ्चालन हुने ८ रात ९ दिनको बिस्का जात्रालाई व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र पार्ने निर्णय गरेको हो।

बैठकमा नगर प्रमुख प्रजापतिले बिस्का जात्रा विश्वभर चिनिने भक्तपुरको मौलिक सांस्कृतिक धरोहर भएकाले यसलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन सबै सरोकारवालाहरूले आ–आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बिस्का जात्रा सबैको साझा पर्व भएकाले यसको सफल व्यवस्थापनका लागि सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जात्राको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिँदै रथ निर्माण कार्य जारी रहेको उल्लेख गर्नुभयो। यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जात्राको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसी क्यामेरा अपग्रेड गरिने र ड्रोनमार्फत निगरानी गर्ने योजना रहेको बताउनुभयो। साथै, जात्राको प्रत्यक्ष प्रसारण गर्न सके भीड व्यवस्थापनमा सहज हुने उहाँको भनाइ थियो।

बैठकले जात्रालाई व्यवस्थित बनाउन विभिन्न निर्णयहरू गरेको छ। जसअनुसार—

जात्रा क्षेत्रको सरसफाइ, व्यवस्थापन र प्रचारप्रसारको जिम्मा भक्तपुर नगरपालिकालाई दिइएको छ।

शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, प्रहरी र अन्य सुरक्षा निकायलाई दिइएको छ।

पूजाआजा र जात्राको समयमै सञ्चालनका लागि गुठी संस्थानलाई जिम्मेवारी तोकिएको छ।

जात्रा व्यवस्थापनमा भैल नायो, वडा कार्यालय र जात्रा समितिको भूमिका सुनिश्चित गरिएको छ।

केबल, तार तथा फाइबर व्यवस्थापनका लागि सम्बन्धित समितिलाई जिम्मा दिइएको छ।

एम्बुलेन्स, दमकल तथा आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राखिने निर्णय गरिएको छ।

भीड हुने मुख्य दिनहरू (चैत ३०, वैशाख १ र ४) मा स्वयम्सेवक परिचालन गरिनेछ।

यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरी परिचालन गरिनेछ।

खानेपानी र विद्युत आपूर्ति नियमित राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

त्यसैगरी, नयाँ वर्षको अवसर पारेर चैत २७ गते बिहान ७ बजे शुभकामना र्‍याली आयोजना गर्ने निर्णय पनि गरिएको छ। बैठकमा विभिन्न सुरक्षा निकाय, नेपाल रेडक्रस, अस्पताल, टेलिकम, विद्युत प्राधिकरण, खानेपानी संस्था, उद्योग वाणिज्य संघ, स्काउट तथा जात्रासँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

भक्तपुरको पहिचान बोकेको बिस्का जात्रा प्रत्येक वर्ष धूमधामका साथ मनाइने गरिन्छ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्दै आएको छ।