अविरल वर्षापछि खुलेको बीपी राजमार्ग, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको आग्रह

अविरल वर्षापछि खुलेको बीपी राजमार्ग, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको आग्रह

काभ्रेपलाञ्चोक, ७ फागुन । अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। रोशी खोलामा पानीको बहाव घटेपछि बगाएको स्थानमा सडक मर्मत गरी सवारी साधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

यद्यपि वर्षा हुने सम्भावना अझै कायम रहेकाले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक खण्डअन्तर्गत रोशी गाउँपालिकाका चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको थियो।

उक्त स्थानमा सडक विभाग र स्थानीय तहसँग समन्वय गरी सडक खुलाइएको हो। राजमार्ग अवरुद्ध हुँदा काभ्रे खण्डका सवारी साधनहरू धुलिखेल, भकुण्डे र कटुन्जेमा रोकिनुपरेको थियो भने सिन्धुली खण्डबाट आउने सवारी साधनहरूलाई दुम्जा र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा रोकेर राखिएको थियो। हाल राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।