भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो image

भद्रपुर । धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।

जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए ।

सूचना अधिकारी भण्डारीका अनुसार लागत कम र बढी मूल्य पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन् । जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकामा यस वर्ष बढ्ने केन्द्रले जनाएको छ । कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो ।

कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो । शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ ।

“विगतमा ४० देखि ५० केजी धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० केजी बीउले पुग्यो”, सूचना अधिकारी भण्डारीले भने, “एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो । यसको प्रत्यक्ष लाभ किसानले पाउँछन् ।”

गौरादह नगरपालिका–९ का किसान यादव रिमाल आधुनिक प्रविधिको प्रयोग गरेर कम लागतमा चैते धान लगाउन पाएकामा मक्ख छन् । उनले ज्ञान केन्द्रको सहयोगमा आफूले आनुधिक प्रविधि प्रयोग गरेर धानखेती गरेको बताए। उनले विगतमा जस्तो सिँचाइ असुविधा, धानको मूल्यमा समस्या नहुँदा पनि चैत धानखेतीप्रति उत्साहित भएर लगाएको बताए ।

गौरीगञ्ज गाउँपालिका– १ का किसान इन्द्रबहादुर राजवंशीले ज्ञान केन्द्रले किसानले उत्पादन गरेको धान खेतबाटै जिल्लाका विभिन्न राइसमिलमा बिक्रीको व्यवस्था मिलाइदिएको बताए। उनले भने, “प्रविधिको प्रयोग गरेर खेती गर्दा अलि झन्झट भए पनि प्रतिफल राम्रो दिन्छ ।”

कृषि मन्त्रालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७९-८० झापामा बर्खाको समयमा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार आव २०७९-८० मा झापा जिल्ला चैते धान १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएकाकम एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda