भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

फलातेमा चियाखेतीको परीक्षण सफल

फलातेमा चियाखेतीको परीक्षण सफल

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गरेको चियाखेती सफल भएको हो ।

‘कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ,’ गौचनले भने, ‘परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ ।’

परीक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने गौचनले बताए। आफन्त र बजारमा कोशेलीका रूपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडेपानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ ।

विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको चियालाई ‘बल्याक टी’ नाम दिइएको छ । स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ । वार्षिक ५० किलोग्रामसम्म चिया उत्पादन हुने गरेको गौचनले बताए ।

काठमाडौँमा व्यवसाय गर्दै आएका गौचनले पुर्ख्यौली जन्मथलोमा खेर गएको बारीमा चियाखेतीसँगै दातेओखर पनि लगाएका छन् । चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्छिन् । रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रशोधन गर्दै आएका छन् ।

छ रोपनी क्षेत्रफलमा चियाखेती गर्न रु २० लाख लगानी भएको रनदेवीले बताइन् । ‘अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्,’ उनले भनिन्, ‘पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु ।’

फलातेअघि अन्नपूर्ण गाउँपालिका–६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मार्फत चियाखेती भए पनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो । मालिका गाउँपालिका–३ किनेतीस्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परीक्षणका लागि गत वर्ष चियाखेती भएको छ ।

म्याग्दीका अन्य ठाउँमा व्यावसायिक रूपमा चियाखेती भएको छैन । फलातेको चिया बगानको अवलोकन गर्न पुेएका अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यावसायिक चियाखेतीको सम्भावना देखिएको बताए । चियाखेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रवर्द्धन गर्न सकिने उनले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.