भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौँ, १ साउन । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग प्रभावित भएका छन्। शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडकखण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्गको बोखिम खण्ड बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ। त्यस्तै, इलामको राजदुवाली क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यी दुवै स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको छ।

बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथअन्तर्गत बकैया–११ क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने भीमफेदी खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी–४ स्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गण्डकी प्रदेशमा कास्कीको नयाँपुल–घान्द्रुक सडकखण्ड र बागलुङको मध्यपहाडी लोकमार्ग (इनारपानी) क्षेत्रमा वर्षा र पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै, गुल्मीका कालीगण्डकी करिडोर र रुद्रबेणी सडकखण्डका विभिन्न तीन स्थानमा पहिरो खसेपछि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तरको वर्षा र थप पहिरो खस्ने जोखिमका कारण मर्मत तथा सफाइ कार्य प्रभावित भएको सम्बन्धित निकायले जनाएको छ। धेरै सडक एकतर्फी सञ्चालनमा रहेकाले सवारी जाम र दुर्घटनाको जोखिम समेत बढेको छ।

प्रहरी र सडक विभागले यात्रु तथा सवारी चालकलाई यात्रा सुरु गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.