संविधानको कार्यान्वयन र रक्षाका लागि प्रमुख शक्ति मिल्नुपर्छः सांसद राई

संविधानको कार्यान्वयन र रक्षाका लागि प्रमुख शक्ति मिल्नुपर्छः सांसद राई image

काठमाडौँ । हामीले सधैँ अरूको विरोध र आलोचना गरी समाज र राष्ट्रमा निराशा मात्रै फैलाउने गर्नुहुन्न । जनताका दुःख र समस्यालाई गम्भीरतापूर्वक समाधान गर्न प्रतिबद्ध हुनुपर्छ । अहिलेको व्यवस्था र संविधान सही छ, कार्यान्वयनमा परिवर्तनकारी शक्ति एकढिक्का हुनुपर्छ । अब निराशा होइन, उत्साहित भई समृद्धिका यात्रामा अघि बढ्न आवश्यक छ । म पहिलो पटक प्रतिनिधिसभामा १५ महिनाअघि निर्वाचित भएर आएको थिएँ ।

संसद्मा कुनै एउटा दल विशेषको बहुमत नभएकाले उत्पन्न समस्याको निकास दिन चुनौती छ । सरकारबाट संसद्लाई चलायमान तुल्याउन ‘बिजनेस’ दिने मामिलामा कमजोरी भएको छ । बाहिरबाट जुन उत्साहपूर्ण ढङ्गले आइयो, अहिले त्यो उत्साहलाई कायम राख्न असहज भइरहेको छ । जुनरूपले संसद् अघि बढ्नुपर्ने थियो, त्यो चलिरहेको र भइरहेको छैन । सत्ता पक्षलाई दोष मात्रै दिएजस्तो आरोप लागे तापनि उसैको बहुमत हुन्छ भन्ने पाटालाई बुझ्नु आवश्यक छ ।

संसदीय समिति गठनमा भएको ढिलाइले प्रारम्भिक दिनमा कानुन निर्माण प्रभावित भए । सत्ता पक्षले नचाहने र अघि नबढ्ने हो भने समग्र संसद्का कामकारबाही नियमित रूपमा अघि बढ्न सक्दैन । त्यसैले पहिलो दोष उहाँहरूमाथि नै छ । सामान्यतया, विषयगत समितिमा सहमति कायम भइसकेपछि फटाफट विधेयक अघि बढ्छन् । एउटा सांसद हुनाका नाताले बाहिर देख्दा, सुन्दा र अन्य मुलुकका संसद्का गतिविधि हेर्दा संसद् प्रतिपक्ष दलको भनिए पनि यहाँ त्यस्तो रहेन ।सदनमा उग्ररूपमा प्रस्तुत हुने सत्ता पक्ष नै छ । प्रमुख प्रतिपक्ष सत्ता पक्षजस्तो बन्नुपरेको स्थिति छ । प्रतिपक्ष दलले कुरा राख्दै गर्दा कतिपय सत्तापक्षका सांसद नै उठेर त्यसमा आलोचना गर्ने काम हुँदै आएको छ । भ्रष्टाचारका कुरामा सत्तासँग प्रहरी र प्रशासन भएकाले भ्रष्टाचारमा संलग्नलाई समातेर कारबाही गर्नुस् भन्दै आएको छु ।

सरकारको कामकारबाही नियाल्दा सत्ता पक्षका साथीहरूमा कुनै कुराको गम्भीरता नभएको हो कि भन्ने भान परेको छ । सय किलो सुन र ललिता निवास जग्गा प्रकरणबारे सदनमा छलफल भयो । त्यसमा आवाज उठाउँदा र छानबिन गरियोस् भन्दा उहाँहरूले असहमति देखाउनुभयो । भर्खर नै पनि बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको हिनामिनाको कुरा आइरहेको छ । यस्ता सार्वजनिक सरोकारका विषयमा छानबिनका लागि शक्तिशाली संयन्त्र बनाउन पनि महिनौँ लाग्यो ।

नेपालको संसदीय इतिहासमा नेकपा ९एमाले० ले आफूलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ । संसद्लाई मर्यादित तुल्याएर लैजानुपर्ने गम्भीरता सत्ता पक्षमा हुनुपर्छ । सदनलाई प्रभावकारी र परिणाममुखी बनाएर लैजानुपर्छ भन्नेमा हामी दृढ छौँ । हामी निराशा मात्रै नपोखौँ, आशा गरौँ, आउँदा दिन राम्रो हुँदै जानेछ ।मुलुकमा राजनीतिक परिवर्तन ल्याउने मामिलामा बाहिर जसले जेसुकै भने पनि प्रमुख राजनीतिक दल एमाले, नेपाली कांग्रेस र माओवादी मिलेर नै यो ऐतिहासिक जिम्मेवारी पूरा गरेका हुन् ।

यी उपलब्धिलाई उल्टाउन एउटा पक्ष सलबलाउन थालेको छ । यसको रक्षाका लागि प्रमुख शक्ति मिलेर काम गर्नुको विकल्प छैन । सरकारमा जो छ उसले यस्ता विषयलाई गम्भीरतापूर्वक नियाल्दै परिवर्तनको महत्त्वपूर्ण हिस्सा ओगटेको एमालेलाई विश्वासमा लिएर जान पर्याप्त ध्यान दिएको छैन कि भन्ने देखिएको छ । संविधानभित्रै रहेर विकास र समृद्धि तथा जनाताका इच्छा, आकाङ्क्षालाई सम्बोधन गर्न प्राप्त उपलब्धि निकै राम्रो भएकाले यसलाई जोगाएर लैजान सद्भावपूर्ण ढङ्गबाट अघि बढ्नुपर्छ भन्नेमा एमाले दृढ छ । व्यवस्थाका विरोधमा उठेका आवाजविरुद्ध सत्ता र प्रतिपक्षको एउटै मत हुनुपर्छ । जात र धर्मका नाममा समाजलाई विखण्डन गरिने प्रयास रोक्न देशका परिवर्तन कारी शक्ति एकाकार हुन जरुरी छ ।

मुलुकमा देखिएका असन्तुष्टिका स्वर उत्पन्न हुनामा विकास, निर्माण, जनचेतना र कानुन निर्माणमा आफूलाई आवश्यकताअनुरूप परिचालित गर्न नसक्ने प्रमुख दलबाट आफ्ना केही कमजोरी र त्रुटि स्विकार्नुपर्छ, त्यसलाई समीक्षा गर्नुपर्छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विकल्प छैन । बैंकको ऋण टन्न लिने अनि तिर्नुपर्ने बेलामा व्यवस्थाप्रति नै प्रश्न उठाएर अराजकता फैलाउने कार्य बढेको छ । आफ्नो देश छाडेर जाने, देशको माया नगर्ने, दाउ परे विदेशी बन्ने अनि हामी राष्ट्रवादी भन्ने प्रवृत्ति बढेको छ ।

देशमा अहिले सुशासन कमजोर छ, अर्थतन्त्र सङ्कटमा छ । विकास निर्माणको अवस्था कमजोर छ । यी र यस्तै कारणले पनि मुलुकमा स्थिरता नचाहने शक्तिलाई सलबलाउन सहयोग गरेको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित नौमहिने सरकार विकास निर्माणको लहर, शिक्षा, सामाजिक सुरक्षा प्रवर्द्धन र जनजागरण पैदा गर्ने सन्दर्भमा यादगर रह्यो । पछिल्लो पटक पनि एमाले नेतृत्वको सरकारले गाउँगाउँमा सुरुङमार्ग, कालोपत्रे सडक, अस्पताल, इन्टरनेट, सिँचाइ, सीमानाका खुला, विद्युतीकरण प्रवर्द्धनजस्ता परिणाम देखिने गरी काम गरेको उदाहरण छ ।

मेरो जिल्ला सोलुखुम्बुको आवश्यकता र उच्च प्राथमिकता भनेको दूधकोशी, लिखुलगायत धेरै नदीनालाबाट छिटो र धेरै विद्युत् उत्पादन तथा राष्ट्रिय प्रसारण लाइन, सडक सञ्जाल र दूरसञ्चार प्रणाली विस्तार हुन् । मुलुकमा बेरोजगारीका कारण कुनै राज्यविरुद्ध कुनै राज्यको सेनामा भर्ना भएर ज्यान गुमाएका घटना दिनदिनै सुन्नुपरेको छ ।

विदेश पलायन भएका युवा, विद्यार्थीको यकिन तथ्य तथ्याङ्क सरकारसँग छैन । देशमा युवा बेरोजगारको सङ्ख्या ठुलो रहेकाले प्रोत्साहन गर्न सुरु गरिएको अनुदान बढाउँदै लैजानुपर्छ । युवाको पलायन रोक्न समयमै समाधान खोजिनुपर्छ । चीन, सिङ्गापुर, मलेसियालगायत खाडीका कैयौँसहित विश्वमा कतिपय मुलुकले छोटो समयमै समृद्धि र दिगो विकास हासिल गरेका हामीले देखेका छौँ । यता नेपाली राजनीतिमा दीर्घकालीन दूरदृष्टि नभएरै हामी पछि परेका हौँ कि भन्ने लाग्छ ।

सांसद मानवीर राईको परिचय
विसं २०४२ देखि भूमिगत विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीतिमा प्रवेश गरेका सांसद राईले विसं २०५४ मा जिल्ला विकास समिति र दुर्गम क्षेत्र विकास समिति सदस्य भई काम गरे । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य तथा नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका उनी सोलुखुम्बु माप्य दूधकोशी–२ ठूलढुङ्गाका स्थायी बासिन्दा हुन् । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • मन्त्री गुरुङलाई ध्यानाकर्षण image

    मन्त्री गुरुङलाई ध्यानाकर्षण

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् । शुक्रबार...

  • फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गर्न नपाइने image

    फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गर्न नपाइने

    काठमाडौं । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चेतावनी दिएको छ । यसरी फिल्मको मुख्य अंशहरु अनाधिकृत दुरुपयोगबाट फिल्म निर्माताहरुको लगानी तथा सम्पूर्ण मेहनत...

  • बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत image

    बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

    ललितपुर । लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट...

  • ३ ग्राम १२० मिलिग्राम लागु औषधसहित कैलालीबाट दुई जना पक्राउ image

    ३ ग्राम १२० मिलिग्राम लागु औषधसहित कैलालीबाट दुई जना पक्राउ

    काठमाडौँ । कैलालीमा अवैध लागु औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाबाट खटिगएको प्रहरी टोलीले कैलाली टिकापुर नगरपालिका–०४ बाट दुई जनालाई...


hotelghyampedanda