रोङ इलाम । गुन्द्रुक ब्रान्डिङ गरेर रोङ गाउँपालिका अघिबढेको छ । यसका लागि गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरु गरेको हो । उत्पादनमा सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले लिने भएपछि अहिले किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेतीमा लागेका छन् ।
साग त बिक्दैन गुन्द्रुक कसले किन्ला ? भन्ने रोङ–४ की शारदा अर्याल अहिले आफै गुन्द्रुक बनाउँन भ्याइनभ्याइ भएको बताउँछन् । शारदा जस्तै कमलाले पनि अहिले व्यावसायिक साग खेती गरिरहेकी छन्। बारीभरि हरियो साग छ । उनलाई मात्रै होइन, गाउँभरी नै किसानको बारीमा साग खेती छ । चिया, आलुले भाउ र घीउछुर्पीले बजार नपाएका बेला गुन्द्रुकले बजार लिइरहेको छ ।
गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायत १० देखि १२ प्रकारका कृषि उपजको ब्रान्डिङ गरेर किसानका लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ ।
गुन्द्रुकमा किसानलाई प्रतिकिलो ८० अनुदान दिइनेछ भने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्गलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको अध्यक्ष स्याङ्बोले बताए। पालिकामा साग उत्पादन बढेको छ । किसानले उत्पादन गरेका सबै साग किन्न सक्ने गरी प्रत्येक वडामा एउटा प्रशोधन उद्योग खोल्ने तयारी रहेको उनको भनाइ छ ।