भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

“स्वास्थ्य बीमाअन्तर्गत १ लाख रुपैयाँको उपचार सुविधा यथावत्”

“स्वास्थ्य बीमाअन्तर्गत १ लाख रुपैयाँको उपचार सुविधा यथावत्”

काठमाडौँ, २९ माघ । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकले पाउँदै आएको १ लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बोर्डले हाल प्रचलनमा रहेको उपचार सीमा यथावत् रहेको जानकारी दिएको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई ३ हजार ५ सय रुपैयाँ योगदान गर्ने पाँच सदस्यीय परिवारले वार्षिक रूपमा १ लाख रुपैयाँ बराबरको उपचार सेवा पाउने व्यवस्था कायम नै छ। यससम्बन्धी भ्रम फैलिएको भन्दै बोर्डले औपचारिक रूपमा प्रष्ट पारेको हो।

स्वास्थ्य बीमा बोर्डले सो रकममध्ये २५ हजार रुपैयाँ ओपीडी सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ६ जना परिवारसम्मले ३ हजार ५ सय रुपैयाँ योगदानका आधारमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने प्रावधान छ।

यस्तै, परिवारमा थप सदस्य भएमा प्रतिसदस्य ७ सय रुपैयाँका दरले योगदान थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको उपचार सुविधा थपिने व्यवस्था पनि रहेको बोर्डले जनाएको छ।

सूचना अधिकारी मल्लका अनुसार अनावश्यक ओपीडी सेवा प्रयोग, दोहोरो उपचार र स्रोतको दुरुपयोग रोक्नका लागि ओपीडी, अस्पताल भर्ना र आकस्मिक सेवाको रकम अलग–अलग शीर्षकमा छुट्याइएको हो। गम्भीर, जटिल तथा ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न यसरी व्यवस्था गरिएको उनले बताए।

स्वास्थ्य बीमा कार्यक्रमको बजेटको ७० प्रतिशतभन्दा बढी रकम सामान्य बिरामीको ओपीडी सेवामै खर्च हुने गरेको उल्लेख गर्दै बोर्डले वास्तविक बिरामीको उपचारमा बीमाको रकम प्रभावकारी रूपमा प्रयोग गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.