भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नगरकोटलाई प्रेम दरबार र जिपलाइनमार्फत विश्वसामु चिनाउने: प्रेम बस्नेतको सपना

नगरकोटलाई प्रेम दरबार र जिपलाइनमार्फत विश्वसामु चिनाउने: प्रेम बस्नेतको सपना

भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं. ८, चरेली नगरकोटमा सञ्चालन भएको होटल प्रेम दरबार तथा नगरकोट जिपलाइन पछिल्लो समय पर्यटक आकर्षणको नयाँ गन्तव्यको रुपमा परिचित हुँदैछ । अर्गानिक फर्मदेखि मनोरञ्जनात्मक सुविधा सम्म जोडिएको यो रिसोर्टले भ्याली नजिकै बसेर शान्त वातावरणमा रमाउन चाहने आगन्तुकका लागि नयाँ अनुभव दिन थालेको छ । होटल प्रेम दरबारको स्थापना, वर्तमान अवस्था र आगामी योजनाबारे जान्नका लागि कैलाश खबरका पत्रकार  विष्णु दैलेखीले सञ्चालक प्रेम बस्नेतसँग गरेको कुरा–कानी प्रस्तुत गरिएको छ ।

प्रश्न: प्रेम दरवार कहिलेबाट सुरु गर्नुभयो ? अहिले कस्तो अवस्थामा छ ?
उत्तर: हाेटल प्रेम दरबार करिब ३-४ वर्षअघि हामीले निर्माण गर्न सुरु गरेका हौँ । यससँगै नगरकोट जिपलाइनको योजना पनि अघि बढाएका थियौँ, जुन आजको दिनमा एसियाकै दोस्रो लामो जिपलाइनको रूपमा स्थापित भइसकेको छ । 

प्रेम दरबारलाई हामीले केवल एउटा होटल वा रेस्टुरेन्टका रूपमा होइन, प्रेम, शान्ति र प्रकृतिसँगको समागमको अनुभव गराउने थलोका रूपमा तयार गरेका हौँ । यहाँ बस्दा र खाँदा प्रेमभाव झल्किने वातावरण अनुभव गर्न सकिन्छ । मनोरञ्जन, भ्यालीको सुन्दर दृश्य र प्रस्ट देखिने सूर्योदय यहाँको विशेषता हो । 

हामी पाहुनालाई आफ्नै फर्ममा उत्पादन भएका अर्गानिक परिकार हाँस, कुखुरा, खसीदेखि मौसमअनुसारका ताजा तरकारीहरू पस्कन्छौँ । यहाँ आउने पाहुनाले जंगल हाइकिङ, चराचुरुङ्गीको आवाज,  शान्त वातावरण र आत्मीय सत्कारको अनुभव गर्न सक्नेछन् ।

प्रश्न: स्थापना कालदेखि अहिलेसम्मको यात्रा कस्तो रह्यो ? व्यवसायले अपेक्षित सफलता प्राप्त गर्न सक्यो ?
उत्तर: प्रेम आफैंमा सन्तोष हो भन्ने सोचका साथ हामीले प्रेम दरबार सुरु गरेका थियौँ । सुरु देखिनै यसलाई विस्तार गर्ने स्पष्ट योजनासहित अघि बढेका थियौँ । आजकाे अवस्था सम्म पुग्दा हामी सन्तोषजनक स्थितिमा छौँ । 

देशले ठूलो संकट नभोग्ने हो भने प्रेम दरबारलाई उत्कृष्ट गन्तव्यको रूपमा अझ सशक्त ढंगले स्थापित गर्न सकिन्छ भन्ने हामीलाई दृढ विश्वास छ । हामीसंग अत्यन्तै समर्पित र सक्षम टिम र स्टाफ छन् । त्यसैले पयर्टकहरूलाई केहि नयाँ सेवा दिन निर्माण (construction) का योजनाहरूमा अघि बढ्ने तयारीमा छौँ ।

प्रश्न: आगामी योजनामा के के नयाँ सुविधाहरू थप्ने सोचमा हुनुहुन्छ ?
उत्तर: हाल प्रेम दरबारमा कृषि र साहसिक (adventure) पर्यटनसँग सम्बन्धित विविध सुविधा उपलब्ध छन् । अब आगामी योजनाअन्तर्गत हामी स्वीमिङ पुल, आधुनिक सेमिनार हल, वेल गार्डेन लगायतका थप मनोरञ्जनात्मक र अतिथिमैत्री संरचना विकास गर्ने कार्यमा अघि बढिरहेका छौँ ।

विगतका सिकाइ र अनुभवलाई आत्मसात् गर्दै हामी नयाँ दृष्टिकोण र दीर्घकालीन रणनीतिसहित प्रेम दरबारलाई अझ समृद्ध, आकर्षक र बहुआयामिक गन्तव्यका रूपमा स्थापित गर्न प्रयत्नशील छौँ ।

प्रश्न: हाेटल प्रेम दरबारसँग सम्बन्धित जग्गाको क्षेत्रफल कति हो र यो कसरी व्यवस्थापन र उपयोग भइरहेको छ ?
उत्तर:  हाम्रो होटलसँग करिब २० – २५ रोपनी जग्गा छ । यसलाई हामीले कृषि, अर्गानिक फार्मिङ र पर्यटन गतिविधिसँग जोडेर सदुपयोग गरिरहेका छौँ । आफ्नै बारीमा उत्पादित अर्गानिक खाना हाम्रो पाहुनालाई प्रदान गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो । यसले पाहुनालाई ताजा र स्वस्थ भोजनको अनुभव मात्र होइन प्रकृतिसँग नजिकको सम्बन्ध बनाउँन सहयाेग पुग्ने अपक्षा हाम्राे छ । 

प्रश्न: काेभिड महामारीपछि भर्खरै तङरिदै गरेकाे पर्यटन क्षेत्रमा पछिल्लो समय के असर परेको देख्नुहुन्छ ?
उत्तर:  पर्यटन देशकाे एक महत्वपूर्ण क्षेत्र हाे । कृषिपछि अर्थतन्त्रकाे ठूलाे हिस्सा बन्नुपर्ने पर्यटन अस्थिर सरकारका कारण केहिपछि परेकाे अनुभव भइरहेकाे छ । देशले पर्यटन क्षेत्रसंग सम्बन्धित दीर्घकालीन योजनाहरू नबनाउँदा अहिले जस्ताे संक्रमणकालीन अवस्थाका कारण पर्यटक भित्र्याउन कठिन भइरहेको अवस्था छ । तर हामी व्यवसायीहरूले सकारात्मक सोच राखेर केही गर्नुपर्छ भन्ने धारणा लिएर काम गरिरहेका छौँ ।

प्रश्न: पर्यटन व्यवसायीलाई राज्यले के कसरी सहयोग गरिरहेकाे छ र अब के गर्नुपर्छ ?
उत्तर:  पर्यटन व्यवसायीलाई राज्यले विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । याे गर्नु नि पर्छ । तर याे साहै सानाे परिमाणमा भइरहेकाे छ । पहिलो कुरा, सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नु पर्‍याे ।  पर्यटकीय स्थलहरूमा आवश्यक पूर्वाधार विकासमा ध्यान दिनु पर्छ। जस्तै, सडक, सञ्चार, खानेपानी र विजुली जस्ता आधारभूत सुविधा विस्तार गरी पर्यटनस्थलसम्म पहुँच सुधार गरेमा राम्राे हुन्थ्याे । सरकारले पर्यटन व्यवसायीलाई कर छुट, ऋण सुविधा, तालिम कार्यक्रम र प्रवर्धन अभियानमार्फत सहयोग गर्नुपर्छ ।

यसका बाहेक राज्यले मानविय व्यवहारलाई प्राथमिकतामा राख्नुपर्छ र हाम्रो संस्कार, परम्परा, तथा प्रेमभावलाई कमजोर बनाउने गतिविधिहरूलाई रोक्नुपर्छ । पर्यटन क्षेत्रमा संलग्न सबैले हाम्रो मौलिकता जोगाउने प्रयास गर्नुपर्छ ताकि पर्यटकहरूले यहाँको सांस्कृतिक पहिचान अनुभव गर्न सकून् । यसका लागि गलत व्यवहार गर्नेहरूमाथि कडा कारबाही गरी नेपालीहरूले नै आफ्नो संस्कार र मूल्य प्रणालीको रक्षा गर्न सक्ने वातावरण बनाउनुपर्छ ।

थप रूपमा डाडाँपाखा (पहाड र गाउँका क्षेत्रहरू) लाई पर्यटन विकासको केन्द्रविन्दु बनाएर स्थानीय आर्थिक स्रोतहरूलाई सदुपयोग गर्नुपर्छ । यसले स्थानीय जनतालाई रोजगार दिने मात्र नभई आर्थिक विकासमा पनि ठूलो योगदान गर्नेछ । अन्ततः पर्यटन व्यवसायलाई दीगो र सुरक्षित बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्यलाई अझ बलियो बनाउनु आवश्यक छ । वातावरण संरक्षण, गुणस्तरीय सेवा प्रवाह र नवप्रवर्तनमा जोड दिँदै राज्यले पर्यटन व्यवसायीलाई निरन्तर प्रोत्साहित गर्दै जानु पर्ने हाे । 

प्रश्न: हाेटल प्रेम दरबारमा कसरी आउँने  ?
उत्तर: अहिलेको जमाना सूचना र प्रविधिकाे हाे । सबैका हातहातमा स्मार्ट माेबाइलहरू छन् । याे जमाना विभिन्न म्यापहरूकाे हाे । हाम्राे हाेटलकाे लाेकेसन गुगल सजिलै पाउन सकिन्छ । प्रेम दरवार भ्यालीबाटै देखिने सो पिसमा छ । यहाँ कोलाहलबाट टाढा, शान्त वातावरणमा बस्न पाइन्छ । हाइकिङ, जंगल सफारी, ड्याम,  हिमाल, सूर्योदय – सूर्यास्त र यहाँका बारीमा धान- गहुँका हरियाली फाँटहरू समेत हेर्ने सकिन्छ । 

प्रश्न: यहाँ बस्ने खर्च  के कति छ ?  महँगो हुन्छ कि ?
उत्तर: प्रेम दरबार सबैलाई पायक हुने ठाउँ हो । यहाँ बस्न आउँदा खर्चिलो हुँदैन । आफ्नै फर्म र बारीमा उत्पादित तरकारी खुवाइने भएकाले बजारमा निर्भर रहनुपर्दैन । त्यसैले सस्तोमा लोकल, अर्गानिक खानेकुरा खुवाउन सकिन्छ । हामीले सबैलाई हुने गरी व्यवस्थापन गरेका छौं । कोहि यहाँ बस्न नसक्ने भन्ने छैन । 

प्रश्न: दशैं-तिहार नजिकिँदैछ, यो बेला आउने पाहुँनालाई के सुविधा छ ?
उत्तर: हामीले दशैं, तिहार, छठ लगायत सबै पर्व यहाँ परिवारसहित मनाउन मिल्ने वातावरण बनाएका छौँ । स्टाफ र व्यवस्थापक सबै यतै हुने भएकाले पाहुनाले घरको जस्तो आत्मीयता पाउन सक्नु हुन्छ । हाेटल प्रेम दरबारमा आउँन चाहने सबैका लागि गेट सधैं खुला छ । हाम्राे अनलाइनमा भएका सम्पर्क नम्बर र गुगल लोकेशनमार्फत सजिलै आउन सकिन्छ । अन्त्यमा: विजया दशमी, शुभ दीपावली र छठ पर्वको सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दछु म र मेराे हाेटलकाे परिवारका तर्फबाट ! जो जहाँ हुनुहुन्छ, खुसी रहनुहोस् । नगरकाेटतिर आउँदा प्रेम दरवारलाई सम्झनुहोस् । धन्यवाद !