तुलसीपुर । दाङको तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघमा आबद्ध तथा शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो।
समितिको आइतबार बसेको निर्णयअनुसार सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्नेछ। विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारका लागि समिति, शिक्षक तथा संघमा आबद्धहरुले सोही विद्यालयमा पढाउनुपर्ने निर्णय भएको बताए। यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने प्रधानाध्यापक पौडेलको विश्वास छ।
साथै आगामी शैक्षिक सत्रदेखि तीन विषयमा ‘ग्रेस मार्क्स’ थप गरी कक्षा चढाउने परम्परालाई पनि बन्द गर्ने विद्यालयले निर्णय गरेको छ । विद्यार्थीलाई सक्षमताका आधारमा कक्षा वृद्धि गर्दा नै त्यसले शैक्षिक उपलब्धि हासिल हुने प्रधानाध्यापक पौडेलले बताए।
तीन माध्यममा पढाइ
विद्यालयले आगामी वर्षदेखि तीन तहमा पठनपाठन गराउनेसमेत तयारी गरेको छ। नेपाली, अङ्ग्रेजी र विशिष्टखालको अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनेसमेत प्रधानाध्यापक पौडेलले बताए। उनले शिशु, एलकेजी र युकेजीमा २५र२५ जना, कक्षा १ देखि ५ सम्म ३०र३० जना र ६ देखिमाथि ४०र४० जनालाई त्यस्तो शिक्षा दिने तयारी रहेको उनको भनाइ छ।
विशिष्टखालको अङ्ग्रेजी पढाइका लागि कक्षा ६ देखिमाथिका विद्यार्थीलाई मासिक एक हजारदेखि एक सय पाँच सयसम्म शुल्क लिने गरी तयारी गरिएको प्रधानाध्यापक पौडेलले बताए। विशिष्टखालको कक्षाका लागि एसी, एड्भान्स ल्याप्टपसहितको व्यवस्थापन गरिएको छ।
खेलमा पनि सक्रिय
उक्त विद्यालय खेल क्षेत्रमा पनि सक्रिय छ। कराते, तेक्वान्दो, भलिबल, एथ्लेटिक्स, फुटबलको प्रशिक्षक राखेर खेल खेलाउने गरिएको छ । त्यसले परिणाम दिन थालेकोसमेत प्रधानाध्यापक पौडेलले बताए। उहाँका अनुसार विद्यालयमा सङ्गीतको कक्षा चलिरहेको छ। जसबाट विद्यार्थीले सङ्गीत गरेर आम्दानी पनि गरिरहेका छन् । पठनपाठनका लागि डायरी सिस्टम लागू भएको छ । जसमा कुन शिक्षक कति बजे पढाउन गएको, कति बजे निस्केको, कति बुझेकोजस्ता कुराहरू त्यो डायरीमा टिप्ने उनले बताए।
पाँच प्राविधिक विषय पनि अध्ययन
विद्यालयमा पाँच वटा प्राविधिक कक्षा पनि सञ्चालन भइरहेका छन् । जेयोमेटिक डिप्लो, आइटी डिप्लोमा, इलेक्ट्रिकल ९–१२, इलेक्ट्रिकल र आइटीमा २४ महिने कक्षा सञ्चालन भइरहेका छन् । आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान विषय पनि पठनपाठन गराउने तयारी रहेको प्रधानाध्यापक पौडेलले बताए। रासस
