मुख्य बुँदा
जापानिज इन्सेफ्लाइटिसबाट हालसम्म ११ जनाको मृत्यु, ६३ सङ्क्रमित ।
मृत्यु हुनेमा बालबालिका र वयस्क दुबै समूहका व्यक्ति ।
गत वर्ष २५ जनाको मृत्यु, ८६ सङ्क्रमण भएको थियो ।
नेपालमा ८२% बालबालिकाले खोप लगाइसकेका छन् ।
रोग साउनदेखि कात्तिकसम्म बढी देखिने ।
क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने, तर मानिसबाट मानिसमा नसर्ने ।
पानी जम्ने ठाउँ, धानबाली र दलदल क्षेत्रमा संक्रमणको जोखिम उच्च ।
काठमाडौँ, ४ भाद्र । नेपालमा जापानिज इन्सेफ्लाइटिस (JE) को प्रकोप बढ्दै जाँदा अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन् भने ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीमा एक/एक जना तथा चितवनमा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दा माथिका नौ जना छन् ।
गत वर्ष (सन् २०२४) मा यस रोगका कारण २५ जनाले ज्यान गुमाएका थिए भने ८६ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । डा. गौतमका अनुसार नेपालमा हालसम्म ८२ प्रतिशत बालबालिकाले जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइसकेका छन् । खोप नलगाएकामा संक्रमणको जोखिम बढी हुने भएकाले सतर्कता आवश्यक छ ।
यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गरेको छ । क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मस्तिष्कमा सङ्क्रमण हुने यो रोग साँझ र बिहानको समयमा बढी फैलिने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको प्रजननस्थल भएकाले त्यस्ता क्षेत्रमा सावधानी अपनाउन डा. गौतमले आग्रह गर्नुभयो ।
जापानिज इन्सेफ्लाइटिस संक्रमित हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा सर्ने भए पनि यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
कसरी सर्छ?
यो रोग क्युलेक्स प्रजातिको लामखुट्टे को टोकाइबाट सर्छ ।
लामखुट्टेले संक्रमित हाँस, कुखुरा, सुँगुर (बङ्गुर) जस्ता जनावरलाई टोकेपछि मानिसलाई टोकेमा रोग सर्छ ।
तर यो मानिसबाट मानिसमा सर्दैन ।
कुन समयमा बढी हुन्छ?
नेपालमा यो रोग साउनदेखि कात्तिकसम्म (मनसुन र बर्खा) बढी देखिन्छ ।
कारण: पानी जम्ने, धानबाली र दलदलयुक्त स्थान लामखुट्टे प्रजननका लागि उपयुक्त हुन्छन् ।
लक्षणहरू
सुरुमा ज्वरो, टाउको दुखाइ, शरीर कमजोरी
बान्ता, होस गुम्ने
गम्भीर अवस्थामा मस्तिष्कमा सुजन (Brain inflammation) भएर झट्का (Fits), बेहोस हुने, र मृत्यु समेत हुन सक्छ ।
जोखिम समूह
बालबालिका र वृद्धहरू बढी संवेदनशील हुन्छन् ।खोप नलगाएका मानिसमा जोखिम उच्च हुन्छ ।
खोप (Vaccine)
नेपालमा २०६२ सालदेखि यस रोगविरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु भएको हो ।
हालसम्म करिब ८२% बालबालिकाले यो खोप लगाइसकेका छन् ।
सुरक्षाका उपायहरू
लामखुट्टे रोकथाम: मच्छरदानि प्रयोग गर्ने, घर वरपर पानी नजम्ने बनाउने
साँझ र बिहान लामखुट्टे सक्रिय हुने भएकाले विशेष सावधानी
खोप लगाउने (विशेषगरी उच्च जोखिम भएका जिल्लामा बस्नेले अनिवार्य)
