काठमाडाैं, १४ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–२ स्थित जलजला क्षेत्रमा अब पर्यटकहरूले फरक अनुभव लिन सक्ने भएका छन् । यहाँ स्थानीय पशुपालक किसानहरूले ‘गोठस्टे’ (गोठबास) सेवा सञ्चालनमा ल्याएका छन् ।
समुद्री सतहदेखि करिब ३ हजार ४ सय १४ मिटर उचाइमा रहेको जलजला क्षेत्रमा होटल वा रेष्टुरेन्ट नभएकाले पर्यटकलाई बस्न र खानका लागि स्थानीय गोठमै व्यवस्था गर्न थालिएको हो ।
ढोरपाटन शिकार आरक्षभित्र पर्ने यो क्षेत्र बस्तीभन्दा टाढा रहेको छ । पक्की संरचना निर्माणमा प्रतिबन्ध भएकाले वैकल्पिक रूपमा गोठस्टे अवधारणा अघि सारिएको सञ्चालक फुलबहादुर विश्वकर्माले बताए । उनका अनुसार पर्यटकहरूको मागअनुसार गोठमै बस्ने र खाने सुविधा दिइएको छ । यसले स्थानीय गोठालाहरूलाई अतिरिक्त आम्दानीको अवसर पनि दिएको छ ।
गोठस्टे प्रयोग गर्न पर्यटकहरूले अग्रिम फोनमार्फत बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । २० जनाभन्दा बढी समूह आएमा पालो मिलाएर सेवा दिने गरिएको सञ्चालकहरूले बताएका छन् ।
गोठस्टेमा बस्ने पर्यटकले स्थानीय उत्पादनमा आधारित परिकारको स्वाद लिन सक्छन् । यहाँ च्याउ, टुसा, ढकायोको तरकारी, ढिडो, आटो, दूध, दही, मोहीदेखि खसीको मासुका परिकार समेत उपलब्ध छन् ।
आन्तरिक पर्यटक प्रतापजङ्ग थापाका अनुसार गोठस्टेले टेन्ट वा ओडारमा बस्नुपर्ने बाध्यता अन्त्य गरेको छ । उनले घुम्ती गोठको वास्तविक अनुभव लिन पाइएको बताए ।
सडक सञ्जाल विस्तारसँगै जलजला क्षेत्रमा पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडक खुलेपछि दैनिक सयौँ पर्यटक पुग्न थालेका छन् ।
पर्यटकहरू मोटरसाइकल र जिपमार्फत यस क्षेत्रमा पुग्ने गरेका छन् । जलजला अहिले साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
जलजला क्षेत्रबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसम्मको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको समथर पाटन, बदलिँदो मौसम र शान्त वातावरणले पर्यटकलाई आकर्षित गर्छ ।
वन क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको वासस्थान पनि रहेकाले यो क्षेत्र थप महत्वपूर्ण मानिन्छ ।
धौलागिरि गाउँपालिकाले जलजलामा खानेपानी र सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको छ । चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधारका लागि बजेट विनियोजन गरिएको छ ।
स्थानीय सरकारका अनुसार जलजला–ताकमकोत–मुनामालिका–ढोरपाटन जोड्ने पदमार्ग विकासको योजना पनि अघि सारिएको छ ।
सडक पहुँच सहज हुँदै गएपछि जलजला अब हिमाली साहसिक पर्यटनको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
