सुनसरी, १९ भाद्र । सुनसरीस्थित झुम्का कारागारमा अज्ञात रोग फैलिँदा चार दिनमै तीन कैदीबन्दीको मृत्यु भएको छ भने १३ जना उपचाररत छन्।
कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार पछिल्लो पटक बुधबार राजविराज–८ सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
यसअघि भदौ १५ गते गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराव र १६ गते धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो। उराव कर्तव्यज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।
उच्च ज्वरोका कारण १३ कैदी हाल धरानस्थित बीपी प्रतिष्ठानमा उपचाररत छन्। बिरामी बढ्न थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले बुधबार रातिदेखि नै कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
कारागार प्रशासनका अनुसार झुम्का कारागारमा हाल १ हजार ७९५ कैदीबन्दी छन्। स्वास्थ्य संकटका कारण कैदीहरूको सुरक्षामा चुनौती बढेको छ।