काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो।
देशभरका ७७ वटै जिल्लाबाट कुल १७,२२९ विद्यार्थीले आवेदन दिएका छन्।
विज्ञान विषयमा १२,३३७, व्यवस्थापनमा ४,४८१, शिक्षा १०४, मानविकी ३४ र कानुन २७३ जनाको आवेदन।
आवेदनको रुजु प्रक्रिया असार ३२ गतेसम्म सम्पन्न हुनेछ।
कार्यक्रमको उद्देश्य आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिनु हो।
काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि खुला गरेको छात्रवृत्ति आवेदनमा देशभरबाट १७ हजार २२९ जना विद्यार्थीले आवेदन दिएका छन्। शैक्षिक सत्र २०८२/०८३ का लागि संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा भर्ना हुन इच्छुक विद्यार्थीका लागि महानगरले आवेदन आह्वान गरेको थियो।
महानगरको शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार, आवेदन दिने विद्यार्थीहरूमध्ये १२ हजार ३३७ जनाले विज्ञान, ४ हजार ४८१ जनाले व्यवस्थापन, १०४ जनाले शिक्षा, ३४ जनाले मानविकी, र २७३ जनाले कानुन विषय छनोट गरेका छन्।
उहाँका अनुसार, प्राप्त सबै आवेदनहरूको हाल रुजु प्रक्रिया जारी छ, जुन असार ३२ गते बिहानसम्म पूरा हुनेछ। त्यसपछि छात्रवृत्ति परीक्षाको तयारीका लागि प्रवेशपत्र प्रदान गरिनेछ। साउन १ गतेदेखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्। यसका लागि www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np मा गई “एडमिट कार्ड” बटन क्लिक गरी आवश्यक विवरण भरिनुपर्नेछ। प्रवेशपत्रमा परीक्षा केन्द्रसम्बन्धी विवरण पनि उल्लेख हुनेछ।
परीक्षापछि मेरिट सूची प्रकाशित गरिनेछ र त्यही आधारमा छात्रवृत्ति दिइने महानगरले जनाएको छ। शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई संस्थागत विद्यालयहरूमा पढ्न अवसर दिने लक्ष्य राखेको छ।
