भक्तपुर । विपद्मा नागरिकलाई सहज उपचार सेवा उपलब्ध गराउन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले भक्तपुर अस्पताललाई निर्देशन दिएका छन् । अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री लामाले मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमलाई अस्पतालको सेवा सञ्चालनमा आवश्यक परेका सामग्री माग गर्नसमेत आग्रह गरे । प्रदेश सरकारले तत्कालै त्यसको व्यबस्थापन गर्न पछि नपर्ने बताए ।
अनुगमनका क्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले निर्देशक गौतमलाई बाढी, पहिरोलगायत विपद्मा परेका घाइते बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिए । प्रदेशमन्त्री थापाले भने, “विपद्का घटना बढी भएका छन्, जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउनु हाम्रो कर्तव्य हो । बाढीपहिरोको विपद्मा परेर आएका बिरामीको निःशुल्क उपचार राम्ररी गर्नु होला ।”
आकस्मिक कक्ष, आइसियू, सिसियू, शल्यक्रिया कक्षलाई तयारी अबस्थामा राख्न र कुनै पनि महामारी जन्य रोगको सङ्क्रमणको अवस्था आएमा तत्कालै उपचार गर्न सक्नेगरी तयारी अवस्थामा रहन निर्देशक गौतमलाई आग्रह गरे । पाँच शैय्याको डायलोसिस कक्ष तयारी अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ । डायलोसिस कक्ष, अस्पतालको आकस्मिक, आइसियू, सिसियू, शल्यक्रियालगायत विभिन्न कक्षका बारेमा मुख्यमन्त्री लामा,
स्वास्थ्य मन्त्री थापालगायतको टोलीलाई निर्देशक गौतमले जानकारी गराइन् । मन्त्री थापाले तत्कालै प्रदेश सरकारले पाँच शैय्याको डायलोसिस मेसिन उपलब्ध गराउने वचन दिए । निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला लगायतले भक्तपुरको विपद्को अवस्थाबारे अनुगमनटोलीलाई जानकारी गराएका थिए । मुख्यमन्त्री लामा, प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, उद्योगमन्त्री सुकुमाया तामाङ्ग, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलगायतको टोली स्थलगत निरिक्षणमा जुटेको थियो ।