१९ दिनदेखि अनशनरत उनको स्वास्थ्य कमजोर भएको छ । बोल्न सक्दैनन् । उनको पक्षमा जनसमर्थन बढिरहेको छ । सरकारले भने असाधारण मौनता साँधिरहेको छ ।जिल्ला अस्पताल डडेलधुराकी कार्यालय सहयोगी कमला ढाटलाई यतिबेला अनशनरत डा. गोविन्द केसीलाई केही पो भइहाल्छ कि भन्ने चिन्ताले मन खिन्न बनाएको छ । गत वर्ष कात्तिकमा डडेलधुरा पुगेका डा. केसी अस्पतालबाट ५ मिनेटको दूरीमा रहेको कमलाकै घरमा सञ्चालित सगरमाथा होटलको एउटा कोठामा दुई महिनाभन्दा धेरै बसेका थिए ।
त्यसपछि केही दिनका लागि दार्चुला गएर फर्किन्छु भनेर उनी त्यहाँबाट हिँडेका थिए । जाने बेला उनले लौरो र एउटा झोला राखिदिनुहोला भनेर छाडेका थिए । सात वर्षदेखि पक्षाघातले थलिएका कमलाका श्रीमान् चन्द्रबहादुरलाई राम्ररी बस्नुस् है भनेर बिदा मागेका थिए । कमलाले टेलिफोनमा सुनाइन्, ‘डाक्टर सापलाई केही हुन्छ कि भनेर डर लाग्छ । सरकारले त्यति राम्रो मान्छेको कुरै सुन्दैन । पीर लाग्छ ।’
डडेलधुरा बसाइमा डा. केसी साधारण जीवनशैली र दिनरात नभनी निःशुल्क काम गर्ने स्वभावका कारण सामान्य जनताका निम्ति प्रिय थिए । कमलाका अनुसार उनी बिहान एक गिलास दूध पिएर ८ नबज्दै अस्पताल पुग्थे । दिनभर काम गर्थे । दिउँसो १ बजेतिर होटल फर्केर कहिले दालमोठ र एक थर्मस मनतातो पानी खान्थे, कहिले जुस र पानी खाएर फर्किन्थे । कमलाले सुनाइन्, ‘राति ८–९ बजेतिर फर्केर चारवटा रोटी र अलिकति तरकारी मात्रै खानुहुन्थ्यो ।’
कमलाले ०७३ सालमा श्रीमानकाे उपचार गर्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका बेला डा. केसीलाई पहिलो पटक भेटेकी थिइन् । राजधानीको ठूलो अस्पतालमा काम गर्ने डाक्टरको सादगी देखेर छक्कै लागेको उनले सुनाइन् । ‘आफ्नै पैसाले मात्रै खाने । जे दिए पनि मीठो छ भन्ने । नुन–खुर्सानीसँग मात्रै रोटी दिए पनि खुसी भएर खाने,’ कमलाले भनिन् ।कान्तिपुर दैनिकबाट…
