DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संविधान ढोगेको त्यो दिन


  • आश्विन ३, २०७७
  • 544 Views
संविधान ढोगेको त्यो दिन image

कार्यान्वयन गरेर जाने बाटामा कहीँ न कहीँ त्रुटि हुन्छ कि भनेर बेला–बेला दर्द हुन्छ । २०७२ असोज ३ गते संविधान घोषणाको दिन । ऐतिहासिक थियो त्यो दिन । संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना सात दशकभन्दा बढी समयपछि पूरा हुँदै थियो। त्यो एक दिनको उपलब्धि मात्रै थिएन। जनताका प्रतिनिधिले सार्वभौम संस्था संविधानसभाबाट बनाएको संविधान घोषणा गर्ने त्यो ऐतिहासिक मौका राष्ट्रले मलाई दिएको थियो। नेपाली जनताको आशीर्वादले मैले त्यो ठाउँमा पुगेर संविधान घोषणाको मौका पाएँ।

संविधानसभा निर्माणका क्रममा कष्टपूर्ण समय व्यतीत भएको थियो। हामीले संविधानसभा चुनाव नै दुईपटक गर्‍यौं। त्यसपछि एक जना जनताको छोराले जनताकै प्रतिनिधिले संविधानसभाबाट बनाएको संविधान घोषणा गर्नु चानचुने कुरा थिएन।संविधान निर्माणको क्रम चल्दै गर्दा शान्ति प्रक्रियाको समाधान भइसकेको थिएन। ती समस्याको पनि समाधान खोजी गर्दै मुलुक अगाडि बढ्दै थियो। भयानक डिजास्टर ९भूकम्प० का कारण जनता छानोविहीन हुन पुगे। त्यही बीचमा संविधान घोषणा भयो। संविधान घोषणा हुँदै गर्दा त्यसमा पनि असन्तुष्टिका स्वरहरू थिए। त्यति हुँदाहुँदै पनि संविधानसभाबाट संविधान बनेको थियो।

त्यसलाई घोषणा गर्ने मौका मलाई मिलेको थियो। मैले संविधानसभाबाट संविधान घोषणा गर्दा नेपाली जनतालाई सम्झिएँ। जसले यो अवस्थासम्मका लागि आफ्नो जीवनको कुर्वानी गरे। बलिदान र समर्पण गरे। उहाँहरूको स्मरण गरेँ। नेपाली जनता, राजनीतिक दलहरूलाई सम्झिएँ। सात राजनीतिक दल तथा माओवादीसहितको आठ दलको संघर्षपछि मुलुकमा एक खालको परिवर्तन भयो। त्यही परिवर्तनलाई संस्थागत गर्ने सिलसिलामा हामीले संविधान घोषणा गरेका हौं। त्यसमा नेपाली जनताको बलिदान, राजनीतिक शक्ति र नेताहरूको योगदान, सबैभन्दा बढी यो अवस्था ल्याउन बलिदान गर्ने सहिदहरूको सम्झना गर्दै मैले संविधानलाई ढोगेर घोषणा गरेको थिएँ।

संविधान घोषणा गरिरहँदा मभित्र दुईवटा विम्ब प्रतिविम्बन भइरहेको थियो। एउटा, म असाध्यै हर्षित थिएँ। कारण, जनताले आफ्नो भविष्य आफैंले कोरेको संविधान घोषणा हुँदै थियो। दोस्रो, ममा अलिकति खिन्नता पनि थियो। कारण, यति लामो संघर्ष र बलिदानपछि घोषणा हुँदै गरेको संविधान पनि सबै पक्षलाई समेटेर सर्वस्वीकार्य बनाई घोषणा हुन सकिरहेको थिएन। तापनि, ठूलो जनमतको भावना कदर गर्दै संविधान घोषणा भएको थियो। संविधानअनुसार मेरो जिम्मेवारी जे थियो त्यही भूमिका मैले पूरा गरेँ। मैले संविधान बनाएको थिइनँ। विभिन्न राजनीतिक दलका प्रतिनिधि चुनावमार्फत निर्वाचित भएर संविधानसभामा आएका थिए।

उनीहरूले नै संविधान निर्माणको भूमिका निर्वाह गरेका हुन्। नेपाली जनताका प्रतिनिधिले बनाएको नासो नेपाली जनतालाई नै दिनु मेरो कर्तव्य थियो। त्यो दिन मैले भावुक भएर आफ्नो दायित्व पूरा गरेँ र संविधान घोषणा गरेँ। संविधान अहिले कार्यान्वयनको चरणमा छ। यसको संस्थागत कार्यान्वयन भइरहेको छ। संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहका सरकार बनेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता चरित्र बोकेर संविधान आएको थियो। त्यसको कार्यान्वयन हुँदै जनताका प्रतिनिधि निर्वाचित भई अहिले तीनै तहका सरकार चलेका छन्।

जनताका आन्दोलनको बलबाट स्थापित एजेन्डाहरूलाई संस्थागत गर्ने काम भइरहेको छ। त्यसलाई अझ संस्थागत गरेर जानुपर्ने जिम्मेवारी अहिले सबै राजनीतिक दलको काँधमा आइपरेको छ। संविधानमा उल्लेखित उपलब्धिहरूलाई आत्मसात् गरी संस्थागत गर्दै अझै त्यसभित्र रहेका असन्तुष्टिका स्वरहरूलाई समाधान गर्नुपर्छ। लोकतन्त्रको मर्म, संविधानको भावना र मर्म, कानुनको विधिविधान आत्मसात् गरेर अगाडि जानुपर्छ। त्यसरी अगाडि बढ्न सकियो भने संविधान, संविधानले सुनिश्चित गरेका उपलब्धिहरू सबै सफलतातिर जान्छन्।

सैद्धान्तिक रूपमा भन्दा संविधानले व्यवस्था गरेको विधायिका ९व्यवस्थापिका–संसद्०, न्यायपालिका र कार्यपालिकालगायत निकाय अहिले फर्मेसनमा छन्। अरू संवैधानिक निकायहरू पनि छन्। ब्युरोक्रेसी, सेना, प्रहरी सबै विधिविधानअनुसार चल्नुपर्छ। सबै संवैधानिक ढंगले चल्नुपर्छ। स्वतन्त्रताको उपयोग पनि संविधानअनुसार गर्नुपर्छ। तर, सँगसँगै सबैले आआफ्ना खेलका नियमभित्र बसेर आफ्नै परिधिभित्रका कानुनी व्यवस्थामा रहेर अगाडि बढ्न खोजियो भने मात्र लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्छ। सबै अंगहरू लोकतन्त्रको विधिमार्फत चल्नुपर्छ। विधि र प्रक्रियालाई आत्मसात् गरिएन भने त्यो नाम मात्रको लोकतन्त्र हुन जान्छ। अन्नपूर्ण पोष्टबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.