काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६, ७ र ८ असोजमा पहिरो, बाढी जस्ता प्राकृतिक विपद्का घटनाबाट १७ जनाको मृत्यु भएको हो ।
यी तीन दिनमा सबैभन्दा बढी बिहीबार मात्रै १४ जनाले ज्यान गुमाएका छन् । विपद्का ३० वटा घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार बिहीबार मात्रै बाढी र पहिरामा परी १४ जनाको ज्यान गएको हो । ‘विगत तीन दिनमा सबैभन्दा बढी बिहीबार १४ जनाको प्राकृतिक विपद्का घटनाबाट मृत्यु भएको छ ।
यसपटक ९० प्रतिशत क्षति पहिरोबाट भएको देखिन्छ,’ केन्द्रका प्रमुख वस्तीले राजधानीसँग भने । बिहीबार एकाबिहानै स्याङ्जाको वालिङ नगरपालिका– १४ को तमादीमा गएको पहिरोमा ९ जनाको ज्यान गएको हो । सो घटना सडक विभागले बनाएको अव्यवस्थित सडक पूर्वाधारका कारण भएको स्थानीयले बताएका छन् ।
– बाढीभन्दा पहिरो बढी
– तीन दिनमा १७ को मृत्यु, १५ जना बेपत्ता
– बिहीबार मात्रै १४ जनाको ज्यान गयो
सो घटनामा तीन घर पहिरोले बगाएको थियो । सानी परियारको घरका १० जनामध्ये ७ महिने शिशुसहित ९ जनालाई पहिरोले पुरेको थियो भने अन्य एक जना घाइते छन् । घाइतेको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बिहीबार नै पाल्पाको रम्भा गाउँपालिका–२ सुरुंगडाँडाकी २७ वर्षीया मोतीसरा गाहको पनि पहिरोले घर बगाउँदा बगेर मृत्यु भएको हो । यसैगरी, बाग्लुङको कातीखोलामा पहिरोले बगाउँदा बिहीबार नै एक जनाको ज्यान गएको हो । यस्तै, बिहीबार नै कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले बगाउँदा अर्घाखाँची शीतगंगा नगरपालिका–१३ का केशव भाट क्षत्रीको मृत्यु भएको हो ।
सो घटनामा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सवार जिप बाढीले बगाएको थियो । कपिलवस्तुको भलबाडमा विद्युत् लाइन मर्मत गरेर बनगाई फर्किने क्रममा वाणगंगा नगरपालिका–७ स्थित कोइली नदीको कजवेमा बुधबार बाढीले जिप बगाएको थियो । जिप चालक गुल्मीका माधवप्रसाद पाण्डेको भने बुधबार साँझ नै शव भेटिएको थियो । यसैगरी, ६ गते गुल्मीमा २ जनाको पहिरोमा परी ज्यान गएको थियो भने ७ गते बुधबार मकवानपुरमा पहिरोले स्कर्पियोलाई पुर्दा एक जनाको ज्यान गएको थियो ।
पाल्पामा पाँच जना बेपत्ता
बिहीबार नै पाल्पमा पहिरोले घर बगाउँदा बेपत्ता भएकाहरूको अवस्था अझै अज्ञात छ । रम्भा गाउँपालिका–फोक्सिङ बेलौजाका ६० वर्षीय हुमबहादुर गाहकी छोरीतर्फकी नातिनीसहित पाँच जनाको परिवारलाई पहिरोले बगाएको थियो । घटनामा गाहा, उनकी ५० वर्षीया श्रीमती धनिसरा गाह, १७ वर्षीया छोरी कृष्णमाया गाह, मामा घर आएकी १४ वर्षकी नातिनी खुमीसरा आले र छोरातर्फकी छोरी वर्ष ८ की लक्ष्मी गाह पहिरोले पुरिएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनाएका हुन् । घटनास्थल सदरमुकाम तानसेनबाट ४५ किलोमिटर टाढा पर्छ । राजधानी दैनिकबाट…
