काठमाडौँ । ‘अरनिकोले बनेपाको लायकुमा बनाएको नौतले दरबारकै नमुनामा चीनमा पनि एउटा दरबार बनाएका थिए ।’ किंवदन्ती बनेको बनेपाको लायकु, दन्त्यकथाजस्तै बनेका अरनिको । अनि तिनै अरनिकोले लायकुको नमुनामा चीनमा पनि दरबार बनाएको मिथक–कथा ।
म राति निदाउनुअघि जब सिरानीमा टाउको अड्याएर आँखा चिम्लन्थेँ, मेरो कल्पनामा जुँघाको रेखी बस्न थालेको १७ वर्षे कलाकार अरनिको र उसको पछिपछि लागेर हिमालपारिको विस्तीर्ण पठारमा हिँडिरहेका ७९ जना कालीगढहरूको लर्को देखा पर्न थाल्थ्यो । सपनामा पनि ती कलाकारलाई म बेइजिङको विश्वप्रसिद्ध श्वेतप्यागोडा बनाउन आफ्ना कुशल हात चलाइरहेको देख्थेँ ।
त्यो श्वेतप्यागोडा बनेपाको लायकु दरबारको नमुनामा बनेको थियो कि यो अप्रमाणित किंवदन्ती मात्र हो, त्यो भने अहिलेसम्म पनि अनिर्णीत नै छ । म एक महिनादेखि काभ्रेको व्यापारिक केन्द्र र पुरानो बजार बनेपाको आफ्नो घरमा बसेर लकडाउनको फुर्सदिलो समय कटाउने प्रयत्न गरिरहेको छु । र, यो लामो घरबन्दीले मलाई बनेपाकै लामो इतिहासमा घोत्लिन प्रेरित गरिरहेको छ । लायकु दरबारको कथामा वर्णन गरिएका अरनिको हजुरआमाले सुनाएका दन्त्यकथाका राजकुमारजस्तै हुन्थे ।
स्कुलमा मैले पढ्ने एउटा पुस्तकको ‘राष्ट्रिय विभूति’ शीर्षकको परिच्छेदमा अरनिकोमाथि लेखिएको थियो । स्कुल पढ्दा शिक्षकले अनौपचारिक कक्षामा ‘अनुश्रुतिअनुसार’ भन्दै सुनाएको लायकु दरबारको कथा पनि मेरो स्मृतिको भण्डारबाट बाहिर निस्केको छ र त्यसले मलाई सदियौं पहिलेको विशाल फलकमा पुर्याएर छोडिदिएको छ ।
सरले सुनाउनुभएको थियो, ‘हाम्रा कलाकार अरनिकोले चीनमा गएर बनेपाको नौतले दरबारकै नमुनामा त्यहाँ पनि एउटा भव्य दरबार बनाएका थिए ।’ ९यहाँ स्मरणीय के छ भने नेपालभाषामा लायकु शब्दको अर्थ दरबार हो तर बनेपाको लायकुलाई नेपालभाषा र नेपाली दुवै नाम एकैसाथ राखेर सम्बोधन गर्ने चलन छ अर्थात् लायकु दरबार० ।
लायकु दरबारको विषयमा धेरै खोजबिन भएको छैन, लेखिएको पनि त्यति धेरै छैन । बनेपा क्षेत्रकै दुई विद्वान् केदारनाथ प्रधान र ज्ञानकाजी मानन्धरले आ–आफ्ना किताबमा लायकुका विषयमा केही खोजबिन भने गरेका छन् । इतिहासकार ज्ञानकाजी मानन्धरको किताब ‘बनेपा सातगाउँ’ मा यसरी अर्थ्याइएको छ, ‘लायकु भनेको राजकुल अथवा लालकुल हो । लालकुलबाट लायकु शब्दको व्युत्पत्ति भएको हो । लायकु शब्द मल्लशासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ ९पृष्ठ ६२० ।’ कान्तिपुरबाट…
