काठमाडौँ । पेसाले म स्वास्थ्यकर्मी हुँ– नर्स । तर पनि आफू संक्रमित भएको अरूलाई भन्न सकिरहेकी छैन । एक साताअघि उपत्यकाबाहिरबाट फर्किएकी थिएँ । श्रीमान् र काखे बच्चा पनि साथमा थिए । अस्पतालमा सेवामा फर्किनुअघि पीसीआर परीक्षण गर्नु अनिवार्य थियो । ट्राभल हिस्ट्री भएपछि त झन् गर्नैपर्यो ।
परीक्षण रिपोर्ट पोजिटिभ आयो । मलाई संक्रमण पुष्टि भएपछि श्रीमान् र बच्चाको पनि पीसीआर गरियो । श्रीमान्को रिपोर्ट पोजिटिभ आयो, बच्चाको नेगेटिभ । श्रीमान्लाई हल्का खोकी र घाँटी खसखस हुने लक्षण देखिएपछि अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुनुहुन्छ । ममा भने कुनै प्रभाव देखिएको छैन, अहिलेसम्म लक्षणविहीन छु । तर समाजको अपहेलनाका कारण मानसिक रूपमा भने विक्षिप्त हुँदै गएकी छु ।
किनकि जुन दिनदेखि काममा नगई होम आइसोलेसनमा बसेकी छु, छिमेकीले मेरो घरतर्फ हेर्दा पनि कोरोना सर्लाझैं व्यवहार गरेका छन् । ‘टोलमा स्वास्थ्यकर्मी राखेर खत्तमै भो’ भन्छन् । अहिले बसिरहेको ठाउँबाटै निकाल्देलान् भन्ने डरले म पनि संक्रमित हुँ भनेर कसैलाई भन्न सकेको छैन । तथापि होम आइसोलेसनमा आवश्यक सबै सुरक्षा सतर्कता भने अपनाएको छु । म आफैं स्वास्थ्यकर्मी भएकाले रोगको प्रकृति र जोखिम बुझेकी छु । किन घरमा बसेकी छु, किन अफिस जाँदिन भनेर सबैले चासो राखेका छन् । म संक्रमित भएर घरमा लुकें रे, गाउँभरि रोग सार्छु रे भनेर हल्ला गरिरहेका छन् ।
डर लागेर ‘संक्रमितको सम्पर्कमा आएका कारण आइसोलेसनमा बसेको हुँ’ भनेर ढाँट्न बाध्य छु । तर मैले कसैलाई जोखिममा पारेको छैन, घरबाट निस्केको पनि छैन, कसैलाई भेटेको पनि छैन । अर्को रिपोर्ट नेगेटिभ नआएसम्म म बाहिर जाँदिनँ पनि ।आइसोलेसनमा बसेको मात्रै भन्दा पनि मलाई दुर्व्यवहार गरिएको छ, संक्रमित भन्ने थाहा पाए भने के गर्लान् ? नेपालमा भर्खरै कोरोना संक्रमण फैलिँदै गर्दा पनि स्वास्थ्यकर्मी भएकाले छिमेकी मरो नजिक पर्दैनथे, रोग सार्छेझैं गरी कर्के नजरले हेरेको सम्झिँदा धेरै चित्त दुख्छ । किन स्वास्थ्य पेसा रोजेछु भनेर कहिलेकाहीं त ग्लानि महसुस हुन्छ ।
म हरेक दिन जोखिम मोलेर अस्पतालमा बिरामी हेर्छु, समाजले भने प्रेरित गर्नुको साटो उल्टै दुर्व्यवहार गर्छ । केही जवाफ दिऊँ भने भोलि अर्काको ठाउँमा बसेको हो, यही बाटो हिँड्नुपर्छ, त्यसैले केही भन्न सक्दिनँ । यही समाजका मान्छेलाई रोग लाग्यो भने हामी स्वास्थ्यकर्मी नै त चाहिन्छ, तैपनि समाजले किन नबुझेको होला ? हाम्रो अवस्था समाजले कहिल्यै बुझ्लाजस्तो लाग्दैन । म घरमै छु, के मैले सास फेरेको हावाबाट उनीहरूलाई रोग सर्ने हो र रु आफू संक्रमित छु ।
दूध खाने बच्चालाई काखमा खेलाउन पनि नपाउनुको पीडा छुट्टै छ, त्यसमाथि समाजको डर । बच्चा मेरो काखमा आउन नपाएर रुन्छ, राम्रोसँग सुत्दैन । म कति पीडा भोगूँ ? त्यसमाथि संक्रमित हुँदैमा के मैले यस्तो सजाय पाउनुपर्ने हो र ? अस्पतालमा काम गर्ने मान्छे हुँ, बिरामीसँग हेलमेल हुन्छ । कहिलेसम्म म आफूलाई बचाउन सक्थें होला र ?
मसँगै काम गर्ने केही चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित छन् । मलाई पनि अस्पतालबाटै रोग सरेजस्तो लाग्छ । बच्चा पनि संक्रमित भएको भए बरु म अस्पताल गएर बस्थें, दूध खाने बच्चालाई छोड्न पनि मिलेन । बच्चा लिएर म कसरी अस्पताल भर्ना हुनु रु कहिले १४ दिन कट्ला र कोरोना नेगेटिभ आएको रिपोर्ट देखाएर बाहिर हिँडू, समाजको विभेदबाट छुटकारा पाऊँ जस्तो भएको छ । समाजले बुझेको भए आज म संक्रमित हुँ भन्ने कुरा लुकाएर बस्नु पर्थेन होला । साह्रै दुःख लागेको छ । कान्तिपुरबाट…
